
कोच्ची (भारत) : सावजी ढोलकीया गुजरातको सुरतमा हिराको व्यापार गर्छन्। उनको कम्पनी हरे कृष्णा डायमण्ड एक्सपोर्ट ६० अर्ब भारु (एक खर्ब नेपाली रुपैयाँ) को कम्पनी हो। यसको कारोबार ७१ देशमा फैलिएको छ।
सावजीले चाहने हो भने विश्वको सबै सुविधा छोरालाई दिन सक्छन्। तर उनी निकै फरक खालका छन्।
सावजीले आफ्ना २१ वर्षका छोरा द्रव्य ढोलकीयालाई एक महिना साधारण जीवन बिताउन र नोकरी गर्न आदेश दिए।
द्रव्य अमेरिकाबाट व्यवस्थापनको पढाइ गरेर छुट्टीमा भारत आएका थिए। उनी २१ जुनमा बाबुको आदेशअनुसार तीन जोडी कपडा र सात हजार भारु लिएर दक्षिणको सहर कोच्ची पुगे। पिताको आदेश थियो, उनलाई दिइएको सात हजार भारु निक्कै ठूलो आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्ने।
सावजी भन्छन्, 'मैले मेरो छोरालाई भनेको थिएँ, उसले आफ्ना लागि पैसा कमाउने काम गर्नुपर्नेछ।'
उनलाई कुनै एक ठाउँमा एक साताभन्दा बढी काम नगर्न पनि पिताले आदेश दिएका थिए। उनलाई आफ्नो बाबुको पहिचान बताउन रोक लगाइएको थियो भने मोबाइल फोनको प्रयोग गर्न पनि निषेध गरिएको थियो। यहाँसम्म कि घरबाट जुन सात हजार भारु दिइएको थियो, त्यो पैसा पनि उनले सकेसम्म प्रयोग नगरुन्।
आफ्ना छोरालाई यस्तो शर्त राख्ने सावजी भन्छन्, 'म चाहन्थेँ मेरो छोरोले जीवनलाई सम्झियोस्, गरिबले कसरी काम गर्छन्, उनीहरु पैसा र जागिर पाउनका लागि कस्तो संघर्ष गर्छन्। कुनै पनि विश्वविद्यालय तपाईंलाई जीवनका बारेमा यी कुरा सिकाउन सक्दैनन्। यो खालि जीवनको अनुभवबाट मात्रै सिक्न सकिन्छ।'
सावजीको नाम यसअघि त्यति बेला चर्चामा आएको थियो, जति बेला उनले बोनसको उपहारमा कर्मचारीलाई २ सय वटा फ्ल्याट र ५ सय गाडी बाँडेका थिए।
छोरा द्रव्यले पनि पिताले दिएको चुनौती स्वीकार गरे। उनी यस्तो ठाउँमा जान चाहन्थे जहाँको परिस्थिति उनी अनुकूल नहोस्। यहाँसम्मकी त्यहाँको भाषा पनि उनले जानेभन्दा फरक होस्। सावजी भन्छन्, 'छोराले कोच्ची जाने निर्णय गर्यो। किनकि उसलाई मलायम आउँदैनथ्यो। र, त्यहाँ हिन्दी सामान्यतया बोलिँदैनथ्यो।'
आफ्नो कामको अनुभववारेमा द्रव्य भन्छन्, 'सुरुको पाँच दिन मसँग न नोकरी थियो न बस्नका लागि बास। मैले ६० ठाउँमा नोकरी माग्न गएँ र त्यहाँ मलाई जागिर दिइएन। मलाई जीवनमा पहिलोपटक थाहा भयो, जीवनमा जागिरको कति ठूलो महत्व छ।'
जहाँ जागिर माग्न जान्थे उनले त्यहाँ आफू गुजरातको गरिब परिवारमा जन्मिएको र १२ कक्षासम्म मात्रै पढ्न सकेको झुटो कहानी बनाए। द्रव्यले पहिलो जागिर बेकरीमा पाए। फेरि उनले कल सेन्टरमा काम गरे अनि जुत्ताको पसल हुँदै म्याकडन्ल्ड्समा काम गरे। पूरै महिना अलगअलग ठाउँमा काम गरेपछि महिनाको अन्त्यसम्म उनले चार हजार भारु कमाए।
द्रव्य भन्छन्, 'मैले पहिले कहिल्यै पनि पैसाको चिन्ता लिइनँ।' तर जब उनी कोच्ची पुगे, तब उनलाई दैनिक ४० रुपैयाँको खानाका लागि संघर्ष गर्नुपर्यो। लजमा सुत्नका लागि उनलाई २५० भारु चाहिन्थ्यो। द्रव्य मंगलबार एक महिनापछि घर फर्किए।
आफ्नो देशको राम्रो याद लिएर द्रव्य ५ अगस्टको न्युयोर्क जाँदैछन्। जहाँ उनी बीबीए पढ्नेछन्।