PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​संसदमा सुवास नेम्वाङ र रमेश लेखकको यसरी चल्यो दोहोरी



पहिलोपोस्ट

​संसदमा सुवास नेम्वाङ र रमेश लेखकको यसरी चल्यो दोहोरी

काठमाडौँ :  अविश्वास प्रस्तावको छलफल गर्न संसदमा भएको छलफलमा प्रधानमन्त्री निर्वाचनको व्यवस्था रहेको र नरहेकोबारे कानुन व्यवसायीसमेत रहेका दुई सांसद सुवास नेम्वाङ रमेश लेखकबीच दोहोरी चलेको छ। 

संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका सुवास नेम्वाङ अहिले नेकपा एमालेको संसदीय दलका उपनेता छन्। उनले जानी जानी संविधानमा नयाँ प्रधानमन्त्री निर्वाचनको व्यवस्था नराखिएको तथ्य निर्विवाद रहेको शुक्रबारको छलफलमा बताए। 

तर त्यसमा विवाद भोलिपल्टकै बैठकमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले निकाल्दै सोधे, संसदले प्रधानमन्त्री चुन्न सक्दैन भने के चाहिँ गर्न सक्छ?

सुवास नेम्वाङका तर्क  

•    वास्तवमा संविधानले नसोचेर होइन सोचेर जानी जानी संक्रमणको धारामा केही राखेको छैन। राष्ट्रपतिबारे संक्रमणको धारामै राखेको छ फेरि यसरी निर्वाचन गर्ने। तर प्रधानमन्त्री बारे भने राखेको छैन। यो तथ्य निर्विवाद छ। निर्वाचन हुन्छ भन्नेपनि हुन्न भन्नेपनि यसमा एकमुख छन् मात्र यसरी गर्दा हुन्छ यसरी गर्न हुन्न भन्नेमा मत विभाजन छ। किन यसो गरियो संविधानमा जानी जानी गरियो। किन हामीले गर्‍यौँ? हामी चाहान्थ्यौँ संविधान जारी गरेपछि केही समय रहन्छ त्यो समयमा राजनीतिक दलहरु एकमुख भएर संविधान कार्यन्वयनमा लाग्नुपर्छ सरकार फेरबदलमा होइन। 

•    यो सरकार गठन गर्दा सरकारका कमजोरी भएभने हटाएनका लागि एउटा उच्चस्तरिय राजनीतिक संयन्त्र बनेको थियो क्यारे। म प्रमुख प्रतिपक्षलाइ धेरै दोष दिन चाहान्न। अविश्वासको प्रस्तुतकर्ताले प्रस्तुत गरेका कमि कमजोरी नहोस् भन्नका लागि । अविश्वासको प्रस्तुतकर्ता र त्यो संयन्त्रको संयोजकको नाम मिल्छ। उहाँ नै हो कि अर्को हो थाहा भएन। उहाँ नै हो भने अप्ठेरो पर्योक। त्यो सरकार हाँक्ने संयन्त्रको व्यक्तिलाई प्रतिपक्षका साथीहरुले अविश्वासको प्रस्तुकर्ताको रुपमा प्रस्तुत गरिदिनु त भएन नि। यो त उहाँले आफ्नोथ विरुद्ध आफैँ अविश्वासको प्रस्ताव राखेको भयो। 

•    अस्ति २८ गतेसम्म अविश्वासको प्रस्तावको प्रस्तुतकर्ता र दल सरकारमा छ। अस्ति २८ गतेसम्म सरकारमा छ उहाँहरुले पेश गर्नु भएको लिखित प्रस्ताव हेरेँ यो गरेन, त्यो गरेन। यो लिखित प्रस्ताव कसकाविरुद्ध ल्याएको? १८ गतेसम्म त सरकारमा स्वयम् उहाँहरु नै हुनुहुन्छ। २९ गते सम्पूर्ण प्रश्न उठाएर सरकारमाथि विश्वास छैन भन्ने के यो ठिक भयो?

•    झट्टै कुरा सन्दा कस्तो लाग्यो भने हाम्रा मित्रहरुसँग दुई तीन वटा फाइल छन्। जो सँग मिल्नुपर्योु उसको बखान गर्ने फाइल झिक्यो। जसको विरोध गर्ने उसको अर्को फाइल झिक्यो। तर यसो गर्नु ठिक होइन कि। भोली त सबै दलहरु सत्तामा रहेको र अविश्वास प्रस्तुत गर्ने हिजोसम्म सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष र सबै यहाँ रहेका र बाहिर रहेका दल एक ठाउँ उभिएर अगाडि नबढी हुन्न। यो ढंगले व्यवहारले आफूलाई एकताबद्ध बनाउन सक्छौँ। 
 

रमेश लेखकका तर्क

•    म सुदुर पश्चिमको पनि कुनाको मान्छे त्यसै कम कुरा बुझ्छु। हाम्रो सुदूर पश्चिमतिर पूर्वका मान्छेले धेरै कुरा बुझ्छन् भन्छन्। अझ मेचीतिरका साथीहरुले, नेताहरुले अलिक बढी कुरा बुझ्नुहुन्छ। तर मैले एउटा कुरा बुझेको छैन अविश्वासको प्रस्ताव प्रधानमन्त्री माथि आउँछ भनिएको छ, ठीकै छ। धारा २९८ ले अविश्वासको पारित भएपछि प्रधानमन्त्री पदमुक्त हुन्छ भनिएको छ ठीकै छ। तर अर्को प्रधानमन्त्री चाहीँ बन्दैन भनेर तर्क आइरहेको छ। अरु कसैको तर्क आएको भए यसमा प्रवेश गर्दिन थिएँ। मेरा अत्यन्त आदरणीय, मैले साह्रै आदर गर्नुपर्ने र स्वयम् संविधान निर्माणका नेतृत्व गर्नु भएका पूर्व संविधानसभाका अध्यक्ष  र लामो समय सभामुखको काम गर्नु भएका मित्रले यो तर्क गर्नु भएको छ। मेरो प्रश्न हिजोदेखि उठेको छ – यो संविधान निर्माणमा नेतृत्व गर्नु भएका नायकका रुपमा देखिनु भएका नेताले यो रोष्टमबाट ऐतिहासिक घोषणा गर्नुभयो - हामीले यस्तो संविधान बनायौँ शासकीय स्वरुप अनुसार यस्तो प्रधानमन्त्री बनायौँ, जसलाई पदमुक्त गर्न सक्छौँ तर नयाँ प्रधानमन्त्री चयन गर्न सक्दैनौँ।  के उहाँ नायक नै हो त? के उहाँको नेतृत्वमा यो संविधान बनेकै हो त? यो संविधानले साँच्चिकै त्यो परिकल्पना गरेकै हो त? 

•    हामी यो सभाभित्र पक्षबाट पैसा लिएर वकालत गर्ने पेशा गरेका मान्छे छौँ। बेलामौका पर्योा भने आज पनि गरिन्छ, भोलि पनि गरिन्छ त्यसमा एउटा म पनि छु। हिजो पनि गरेको हो, आज पनि गरिन्छ। जनताको अदालत यो संसदमा उभिएर बहस गर्दै गर्दा पक्षको फिस र पक्ष मात्रै होइन, जनतालाई हेरेर मुलुकलाई हेरेर बहस गर्नुपर्छ। 

•    संसदीय व्यवस्थामा संसदले प्रधानमन्त्री दिन सक्दैन भनेर मुलुकलाइ निरंकुशता तिर लैजान खोजेको हो? संसदले यदि प्रधानमन्त्री बनाउन सक्दैन भने म प्रश्न गर्न चाहान्छु के बनाउन सक्छ?

•    हामी संविधानका निर्माणकर्ता भनौँदाहरुलाई पचास बर्षपछि यसै संसदमा आएका मानिसले यो रेकर्ड सुन्दै गर्दा हामीलाइ नायक भन्छन् कि सिनेमामा त्यसको उल्टो अगाडिपट्टि दुईवटा शब्द राखेको हुन्छ, त्यो शब्द मैले बिर्सेँ त्यो भन्छन्- त्यसको हेक्का गर्न जरुरी छ। 

•    मेरो आदरणीय नेता र मैले वास्तवमै नायक मानेको पूर्व अध्यक्षले के भन्नुहोला भनेर सम्झेँ। अर्को समस्या भयो नेपाली मात्र लेखिएको किताब भए नेपाली नेपालीको कुरा हुन्थ्यो, टाकटुक हुन्थ्यो। गल्तीले अंग्रेजीमा पनि छापिएको छ। संसारभरिको संविधानविद्ले यो पढ्ने वाला छन् । र यो एउटा सोध्न सक्छन् छ महिनामा एउटै प्रधानमन्त्रीविरुद्ध एक पटक भन्दा बढी अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्यो नि, त यो भन्या के भन्यो भने के जवाफ दिने? 

•    एउटा जवाफ हुनसक्छ त्यसकारण हामीले प्रधानमन्त्रीलाई दुइ वटा नामले पुकार्ने गरेका छौँ। माननीय खड्गप्रसाद ओली र माननीय केपी शर्मा ओली। यो बाहेक केही उपाय भएन अलग-अलग मान्ने हो भने। 

•    पूर्व अध्यक्षलाइ म आग्रह गर्न चाहान्छु म नियमावली पास गर्ने बेला महेन्द्रनगर थिएँ । थिइन् यहाँ। उहाँ इलाम जानुभएको थियो भने मलाई थाहा छैन। अनुसूचीको नियम ८ मा सपथ ग्रहणको व्यहोरा राखेको छ। त्यो कुन प्रधानमन्त्रीले सपथ ग्रहण गर्न राखेको हो? केपी शर्मा कमरेडले सपथ गरिसक्नुभयो। यो सपथ अविश्वासको प्रस्ताव पास भएपछि पदमुक्त प्रधानमन्त्रीले सपथ गर्ने व्यवस्था छैन। मेरो प्रश्न हो त्यो सपथ कसले गर्छ?

•    म अलिकम बुझ्ने मान्छे ढिला बुझ्छु कम बुझ्छु सुदुर पश्चिमको मान्छे। पूर्व पूर्वतिरका साथीले बुझ्नु भएको छ भने चिया खाँदा सम्झाइदिए पनि हुन्छ त्यो कुन प्रधानमन्त्रीले सपथका लागि राखेको हो?

•    प्रचण्ड २८ गतेसम्म हामीसँगै हुनुहुन्थ्यो। उहाँ त सरकार भन्दा माथि सर्वदलीय संयन्त्रमा हुनुहुन्थ्यो २९ गते भागेर किन जानु भयो भनेर प्रश्न गरियो। प्रचण्डजी किन जानु भयो मलाई थाहा छैन। सय दिन हनिमुन हुन्छ रे सय दिन तपाँइहरुले हनिमुन कहाँ मनाउनुभयो। कसरी मनाउनुभयो त्यसमा के गर्नुभयो सरोकारको विषय भएन। २९ गते किन छाड्नुभयो यो तपाँइहरुले मूल्याङ्कन गर्ने कुरा हो। म त के आग्रह गर्न चाहान्छु कि तपाँइले शरीरमा जुन दम्भ र घमण्डको काँडा उमार्नुभयो त्यसले तपाँइको नजिक कसैलाई आउन दिएन। आएकोलाई घोची घोची टाढा भगायो। त्यसो होइन भने रातभरी सँगै सुतेको भाइ बिहान किन भाग्यो तपाँइसँग रिसाएर?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell