PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​झिनो हाँगा समातेर उभिने प्रयास नगरौं : सिटौला



पहिलोपोस्ट

​झिनो हाँगा समातेर उभिने प्रयास नगरौं : सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्पन्न भएको संवैधानिक जटिलताका विषयमा निकास सहित जवाफ दिन आग्रह गरेका छन्।

संसदमा अविश्वासको प्रस्ताव माथिको छलफलको क्रममा सिटौलाले भने – 'प्रधानमन्त्रीज्यूले जवाफ दिँदा निकाससहित दिनुहुन्छ भन्ने मलाइ विश्वास छ। दुई चार दिन पछि हुने त्यही हो। त्यही अभ्यास गर्ने हो जुन पहिला हामीले गर्‍यौं।'

'अहिलेसम्म राजिनामा दिएर प्रधानमन्त्री पदमुक्त हुने गरेका छन्। बाबुरामजीले राजिनामा दिने बेला संसद थिएन। झलनाथ खनाल, माधव नेपाल त्यही संवैधानिक प्रावधानबाट हुनु भएको हो। हामी आफैले अभ्यास गर्दै आएकोमा जानुपर्छ। दायाँ बायाँ जानु हुँदेन। पूर्व प्रधानमन्त्रीज्यू हुनुहुन्छ उहाँहरुले सोचे पुग्छ।'

'सरकार अल्पमतमा पर्‍यो कुनै अप्ठेरो परिस्थिति होइन। पहिलो पार्टीले तेश्रो पार्टीलाइ प्रधानमन्त्री बनाउने अवस्था छ। जसरी गिरिजाप्रसाद कोइरालाले माधव नेपाललाई समर्थन गर्नुभयो त्यही अवस्था हो।'

उनले संविधान कार्यान्वयनका बेला संवैधानिक जटिलता उत्पन्न नगर्न समेत आग्रह गरे। 

'संविधानको अभ्यास गर्दा धेरै डिबेट नगरौं एक अर्काप्रति धेरै कटुता आवश्यक छैन। कुनै झिनो हाँगा समातेर उभिने प्रयास कसैले नगरौं। संविधानमा नयाँ निर्वाचनको बाटो छैन भनेर कसैले नभनौं।'

उनले संसदको मुख्य तीन कार्यभार रहेको भन्दै प्रधानमन्त्री चयनसँगै  बजेट पारित र विधेयकहरु पारित गर्नु रहेको बताए।

'जनताको निर्वाचित संस्था हो यो। संसदभन्दा माथि को छ? कोही छैन। यसैले समाधान गर्नुपर्छ,' उनले भने, 'सर्वोच्च संस्था संसदले निर्णय गर्न सक्दैन भन्ने हामी कसैले परिकल्पना नगरौं।'

उनले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेपछि राजिनामा दिने विश्वास रहेको समेत खुलाए।

'कोलिसन पार्टनरले छाडेपछि राजिनामा दिनु उत्तम हुन्थ्यो। प्रधानमन्त्रीका लागि पनि दलका लागि पनि मेरो अपेक्षा पनि त्यही थियो राजिनामा दिनुपर्थ्यो।'

उनले अहिलेको संकटको कारण संविधान निर्माणका क्रममा भएको सम्बन्ध टुट्नुको उपजको रुपमा अर्थ्याए। साथै एमाले माओवादी गठबन्धनले संविधान कार्यान्वयनमा सरकारले अग्रसरता लिन नसकेको तर्क गरे।

'संविधान कार्यान्वयनको कुरा उठ्दा डेढ वर्ष निर्वाचन हुन नसके के हुन्छ नेपाल?', उनको प्रश्न थियो, 'आजै देखि म नयाँ गठबन्धनलाई सजग गराउन चाहान्छु सिङ्गो सदन र मूल प्रतिपक्ष (जो बस्ला त्यतिबेला) त्यसलाइ विश्वासमा लिएर निर्वाचनमा जानुपर्छ।'

'निर्वाचनमा नगएसम्म रुपान्तरण हुँदैन। मेरो आग्रह छ संविधान कार्यान्वयन उच्च प्राथमिकता पाउनुपर्छ।'

उनले संसारले नयाँ संविधानले ल्याएको पद्दति र नेपाल कसरी अगाडि बढ्छ भनेर हेरिराखेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell