
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमुक्त भएपछि नयाँ प्रधानमन्त्री चयनका प्रक्रियाका विषयमा दलहरुसँग राजनीतिक परामर्श गरेकी छिन्।
शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी भण्डारीले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेकी हुन्।
'सभापतिज्यूले वर्तमान राजनीतिक परिस्थितीबारे जानकारी गराउनुभयो,' देउवाका सहयोगी भानु देउवाले पहिलोपोस्टसित भने, 'राष्ट्रपतिज्यूले म विवादमा आउने काम गर्दिन भन्नुभयो।'
प्रचण्डसँगको भेटमा पनि राष्ट्रपतिले अविश्वासको प्रस्ताव लगायतका घटनाक्रमबारे चासो राखेको प्रचण्डको सचिवालयले उल्लेख गरेको छ।
'प्रचण्डले अहिले चलिरहेको अविश्वासको प्रस्ताव लगायतका राजनीतिक घटनाक्रम सहज ढंगले अगाडि बढ्ने बताउनुभयो', सचिवालयले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।
राष्ट्रपति कार्यलय स्रोतका अनुसार आफूलाई विवादमा तान्ने काम नगर्न भण्डारीले नेताहरुलाई आग्रह गरेकी थिइन्। स्रोतका अनुसार राष्ट्रपतिले संसद सचिवालयको पत्रपछि मात्रै के गर्ने भन्ने निर्णय लिनेछिन्।
'पत्र कति बेला आउँछ त्यसपछि नै थाहा होला', राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'अहिले त परामर्श न हो।'