
काठमाडौं : बदलिँदो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेकी छिन्।
संसदमा पेश भएको अविश्वासको प्रस्ताव र सत्ता परिवर्तन लगायतका विषयमा दुईबीच कुराकानी भएको थियो। सो क्रममा राष्ट्रपतिले अविश्वासको प्रस्ताव लगायतका राजनीतिक घट्नाक्रममाथि चासो राख्दै आफू सहज ढंगले अगाडि बढ्ने कुरामा विश्वस्त रहन आग्रह गरेकी छिन्।
यसअघि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत बोलाएर परामर्श लिएकी थिइन्। उनले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पारेको जनाइएको छ।
नेपालको संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी छ। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। शुक्रबारदेखि छलफल भएको प्रस्तावमाथि आज टुङ्गो लाग्ने संसद्को कार्यसूची छ।