PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

'ओली राष्ट्रवाद' विरुद्ध उपेन्द्र यादव, भने : हामीसँग वार्ता गर्न भारतसँग ओलीको प्रस्ताव



रमेश वाग्ले

'ओली राष्ट्रवाद' विरुद्ध उपेन्द्र यादव, भने : हामीसँग वार्ता गर्न भारतसँग ओलीको प्रस्ताव

काठमाडौं : संविधान जारी हुनुअघि देखि संविधानसभा हुँदै संसद् समेत बहिस्कार गरिरहेका मधेशी दलले पहिलो पटक संसदको छलफलमा भाग लएको छ। मोर्चालका तर्फबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज संसद्को बैठकलाई रोष्ट्रममै उभिएर सम्बोधन गरे।

संविधानसभा छँदै बहिस्कार सुरु गरेको मोर्चा केपी ओली प्रधानमन्त्री हुँदा पनि उनका विरुद्धमा मतदान गर्न संसदीय अभ्यासमा सहभागी भएको थियो। त्यसयता संसद् बैठक बहिस्कार गर्दै आएको मोर्चा संसदमा प्रधानमन्त्री केपी ओली विरुद्धमा अविश्वास प्रस्ताव आएपछि त्यसको समर्थनमा मत जाहेर गर्दै छलफलमा भाग लिइरहेको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसदहरुले भने संविधान बहिस्कार गरेकाहरु प्रधानमन्त्री हटाउने समयमा संविधान मानेर संविधानको छलफलमा भाग लिइरहेको भन्दै व्यङ्ग्य गरिरहेका छन्। आइतबारको छद्यफलमा उपेन्द्रले ती व्यङ्ग्यमात्र हैन केपी ओलीको राष्ट्रवादको नारालाई पनि उदाहरण दिएरै उजागर गरे।

'हामीले यो नश्लवादी संविधान स्वीकार गरेका छैनौ र गर्दैनौ पनि,' यादवले भने, 'कसैले संसदमा आउनुलाई नै स्वीकार गरेको व्याख्या गरेर आफ्ना जिम्मेवारीबाट पन्छिन्छ भने त्यो हामीलाई स्वीकार्य छैन।' यादवले प्रधानमन्त्री केपी ओलीको नाकाबन्दी खुलाएर सफलता प्रप्त गरेको भन्दै भाषण गरिरहेका एमाले सांसद्हरुलाई पनि जवाफ फर्काए।

'हाम्रो आन्दोलमा नरसंहार मच्चाएर भगाएपछि दशगजामा गएर आन्दोलन भएको थियो। त्यही कारण नाकाबन्दी पनि भएको थियो,' उनले भने, 'त्यो आन्दोलनलाई विदेशीको आन्दोलन र विखण्डनकरीको आन्दोलन भनेर सरकार पन्छिएपछि हामी आन्दोलनको स्वरुप परिवर्तनको निर्णय गरेर काठमाडौं आएका हौं।' यादवले एमाले सांसद्हरुलाई 'के यही हो नाकाबन्दी खुलाएर केपी ओलीले हासिल गरेको सफलता?' भन्दै प्रश्न गरे।

एमाले सांसदहरुले केपी ओलीको सरकार राष्ट्रवादी भएका कारण पनि प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका थिए। त्यसको जवाफमा यादवले राष्ट्रवादको एउटा मात्र उदाहरण दिने बताए। 'हामी आन्दोलनमा रहेका बेला नरसंहार मच्चाउने मात्र हैन, हामीलाई विदेशीसमेत भनियो विखण्डनकारी भनियो,' उनले भने, 'हामीसँग गरिएको ३६ वटा वार्तामा एक पटक पनि सरकारले प्रस्ताव ल्याएन।' उनले आन्दोलनकारीसँग वार्ता नगर्ने सरकारले भारतसँग प्रस्ताव राखेको बताए।

'हामीसँग कहिल्यै आन्दोलन रोक्न वार्तामा बस्दा प्रस्ताव नराख्ने केपी ओलीको सरकारले हामी दिल्ली पुग्दा चार बुँदे प्रस्ताव राखेको रहेछ,' उनले भने, 'दिल्लीसँग तिनै बुँदाका आधारमा वार्ता गरिदिनु भनेको रहेछ।'

उनले 'यही हो ओली राष्ट्रवाद' भन्दै संसद्मा रेकर्ड गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell