PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कांग्रेस सांसद भन्छन्- 'कुशासनको नमुना बन्यो ओली सरकार, धेरै समय मजाकमै बिताइयो'



रमेश वाग्ले

कांग्रेस सांसद भन्छन्- 'कुशासनको नमुना बन्यो ओली सरकार, धेरै समय मजाकमै बिताइयो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आज तेस्रो दिन पनि छलफल जारी छ। आफ्नो धारणा राख्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले ओली नेतृत्वको सरकारलाई कुशासनको नमुना भएको आरोप लगाएका छन्।
 
संसदमा धारणा राख्ने कांग्रेस सांसदहरुको मन्तव्यको सार :
 

डा. रामशरण महत : 

ओली सरकारले देशको आवश्यकता आधारमा होइन व्यक्ति व्यवस्थापनका आवश्यकताका आधारमा मन्त्रालय फुटाएको हो। 

भारतले लागएको नाकाबन्दी खुलाइयो भनेर गर्व गरिँदैछ तर नाकाबन्दी सरकारले होइन जनताले खुलाएका हुन्। वीरगन्ज नाकाको व्यापार भैरहवा र विराटनगरले लिए। त्यसकारण त्यहाँकै मान्छेको सक्रियतामा मधेसी दललाई दबाबमा पारेर नाका खोलिएको थियो।
 
परराष्ट्र नीति सफल भयो भन्ने पनि तर्क सुनिँदैछ। 'भारतलाई हामीले ठिक ठाउँमा ल्यायौं' भनेर पार्टीका महत्वपूर्ण दस्तावेजमा लेखियो। के यही हो कूटनीतिक सफलता? छिमेकी देशसँगका कतिपय संवेदनशील कुराहरु कूटनीतिक तहमा गर्नुपर्छ, सडकमा आएर भाषण गरेर समाधान हुँदैनन्।
 
फेरि चीनसँगको नाका खोलिएको भन्ने कुरा चर्कोचर्को रुपमा सुन्दैछु। 'खै कुन नाका खुलेछ मैले त कुनै नाका खुलेको देखिनँ?' मैले नै पहल गरेर रसुवा नाका खोल्नका लागि आर्मी परिचालित भएको थियो। ओली सरकारले खोइ कुन नाका खोल्यो?
 
कूटनीतिक रुपमा सफल हुनेहरुले सरकारमा जानुअघि लिपुलेकका विषयमा चर्का कुरा गरेका थिए। भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति गरेका विषयमा मैले नै कूटनीतिक पहल गरेको हुँ। त्यति बेलाका प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट मैले नै कुरा गरेको छु। लिपुलेक ट्राइलेटरल विषय हो भनेर भनेको छु। खै कहाँ के गर्‍यो ओली सरकारले यो विषयमा?
 

अर्जुननरसिंह केसी : 

पार्टीगतभन्दा पनि गुटगत राजनीति गर्नु केपी ओलीको त्रुटि हो। विगत सरकरले भूकम्प पीडितका पक्षमा विदेशीहरुलाई समेत उत्साहित बनाएको थियो। त्यो उत्साह मार्ने काम यो सरकारले गरेको छ।
 
संविधान कार्यान्वयलाई ठट्टाको विषय बनाइयो। मधेसी आदिवासीलाई विश्वासमा लिएर संविधानका त्रुटि भए सच्याउने प्रयत्न गर्नुपर्नेमा मजाक गरेर समय बिताइयो।
 
अविश्वासको प्रस्ताव यिनै कारणबाट आएका हुन्, त्यसैले यो ठिक छ। अविश्वासको प्रस्ताव आएपछि पनि सरकार हट्दैन भन्ने कुरा लोकतन्त्रको उपहास हो। संसदमा अल्पमतमा परेपछि सरकार परिवर्तन हुने कुरा संसदीय व्यवस्थाले स्थापित गरेको शाश्वत सत्य हो।

 
महेश आचार्य :

महाभारतमा एउटा प्रसंग छ- अश्वत्थामा द्रोणाचार्यका पुत्र थिए। उनले द्रोणाचार्यको ब्रह्मास्त्र  माग्दा त्यो मानव सभ्यताकै विरुद्धमा प्रयोग हुन्छ भनेर दिएनन्। तर उनको पुत्रमोहको कमजोरी रहेकाले पछि ब्रह्मास्त्रसँगै यसको प्रयोगको ज्ञान दिए। परिणाम, महाभारतलाई तीन पुस्ता पछाडि फर्कायो।
 
ओलीजीले पनि सत्तालाई त्यही रुपमा प्रयोग गर्न खोज्नुभयो। हाम्रो उहाँको व्यक्तित्व र नेतृत्व प्रति विरोध होइन। तर उहाँले प्रतिपक्षलाई विश्वासमा राख्न सक्नुभएन। आन्दोलन गरिरहेका दलहरुलाई विश्वासमा लिएर वार्ता गर्न सक्नुभएन।
 
सत्तामा रहेका दलहरुलाई विश्वासमा राख्न सक्नुभएन। एमालेले धुम्बाराहीमा गरेको निर्णय समेत बालुवाटारमा पुग्न नदिएको गुनासो स्वयं पार्टीभित्र छ।
 
प्रधानमन्त्रीको पदमा बसिरहने महत्वकांक्षा पूरा गर्न राष्ट्रपतिलाई पनि विवादमा तान्ने प्रयास भएको देखिँदैछ। कृपया त्यसो नगरियोस्। राष्ट्रपतिले तोकिएको निकायले भनेका काम गर्ने हो। राष्ट्रपतिजस्तो गरिमामय संस्थालाई विवादित बनाउने प्रयास नगरौं।
 
सरकारबाट निस्कने प्रयासलाई धेरै गह्रौं रुपमा लिन आवश्यक छैन। सुशील कोइरालाले पनि भन्नुभएको थियो- केपीजीको नेतृत्वले देशलाई विवादमा लैजान्छ। हामीले नै उहाँलाई राजीनामा गर्नुपर्छ भनेको थियौं। नमानेकै कारण आज यो अवस्था आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell