
काठमाडौं : शसस्त्र प्रहरीको एपिएफ लगातार दोस्रो जित हात पार्दै राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
अगस्टमा हुने एसियाली महिला विश्वकप छनोटका लागि भएको प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्यो।
यसअघि शनिबार भएको समूह ए को पहिलो खेलमा एपिएफले मध्यमाञ्ललाई पराजित गरेको थियो। विभागिय क्लब एपिएफले अब उपाधिका लागि समूह बी को विजेतासँग खेल्नेछ। एक एक खेल हारेको मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल बीचको खेल अब औपचारिताका लागि मात्र हुनेछ। एक खेल खेल्नु अघि नै यी दुवै टोली समूह चरणबाटै बाहिरिसकेका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चलले दिएको ६५ रनको लक्ष्य ११ दशमलव २ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। एपिएफको सहज जितमा सिता राना मगरले सर्वाधिक २७ रनको योगदान गरिन्। यस्तै विकेट किपर ज्योती पाण्डे २३ तथा सरिता मगर ४ रनमा नटआउट रहिन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्लले पुरै २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा ६४ रन बनायो।
मध्यपश्चिमाञ्लका लागि लक्ष्मी चौधरीले २२ तथा कप्तान नेरी थापा मगरले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। उसका तीन खेलाडी शुन्यमा आउट भए।
बलिङतर्फ एपिएफकी रितु कनौजियाले ३ तथा करुण भण्डारी र सिता राना मगरले २/२ विकेट लिइन्। एपिएफकी सिता राना मगर वूमन अफ दि म्याच घोषित भइन्।
आइतबारै भएको समूह बी अन्तर्गतको खेलमा सुदुर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई ८ विकेटले पराजित गर्दै फाइनल पुग्न सम्भावना कायमै राखेको छ। पश्चिमाञ्चलले दिएको ९२ रनको लक्ष्य सुदुर पश्चिमाञ्चलले १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।
सुदुर पश्चिमको जितमा रोशनी बोहराले सर्वाधिक ३६ रनको योगदान गरिन्। यस्तै कबिता जोशीले २५, कप्तान रेखा रावलले २२ रन बनाइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले तुलानात्मक रुपमा पहिलो भन्दा दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्यो। पश्चिमाञ्चलका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४३ रन बनाइन् भने बर्षा रानाले ३३ रन जोडिन्।
रोशनी बोहरा वूमन अफ दि म्याच घोषित भइन्।
यता लगातार दोस्रो हारपछि पश्चिमाञ्ल भने प्रतियोगिताबाट बाहिरिसकेको छ। पश्चिमाञ्चल पहिलो खेलमा पुर्वाञ्चलसँग पराजित भएको थियो। अब फाइनल प्रवेशका लागि पुर्वाञ्चल र सुदुर पश्चिमाञ्चलबीच खेल हुनेछ।
राष्ट्रिय खेलकुद परिषद राखेपले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल र पुर्वाञ्चल बीच खेल हुनेछ। फाइनल खेल मंगलबार हुनेछ।