
काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा अगस्ट ५ देखि २१ सम्म हुने समर ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटी इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ। सो कम्पनीले तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक खेलाडी तथा प्रशिक्षकलाई उपहार स्वरुप हस्तान्तरण गरेको हो।
नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टिएनटी इन्टरनेसनल कम्पनीले प्रदान गरेको उपहार खेलाडीहरुलाई प्रदान गरेका थिए। श्रेष्ठले आगामी दिनमा अन्य खेलहरुमा सहभागिता जनाउँदा पार्टनरका रुपमा तोम्बुला ब्रान्डसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिए।
टिएनटी इन्टरनेसनलका सिइओ स्टेवार्डले आफू पनि तेक्वान्दो खेलाडी भएको नाताले खेल र खेलाडीका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल ब्याडमिन्टन संघसँग समेत सहकार्य गरेको बताए।
नेपालबाट ५ खेलका ७ खेलाडीले रियो ओलम्पिकमा सहभागिता जनाउँदैछन्। जस अन्तर्गत तेक्वान्दोकी निशा रावल, जुडोकी फुपुल्यामु खत्री, आर्चरीका जितबहादुर मोक्तान, एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई तथा पौडीका शिरीष गुरुङ र गौरिका सिंह छन्।
नेपालका तीन खेलाडी वाइल्ड कार्ड मार्फत र एथ्लेटिक्स तथा पौडीका गरी चार खेलाडी अनिवार्य सहभागिता मार्फत रियो ओलम्पिकका लागि छनोट भएका हुन्।
गौरिका प्रशिक्षणका लागि लण्डनमा छिन् र उतैबाट ब्राजिल जानेछिन् भने बाँकी खेलाडी अगस्ट पहिलो साता ब्राजिल प्रस्थान गर्नेछन्।
खेलाडीसँगै पाँच खेलका पाँच प्रशिक्षक पनि ब्राजिल जानेछन्। तेक्वान्दोमा संगीना बैद्य, एथ्लेटिक्समा पुष्पराज ओझा, पौडीमा इश्वर कार्की, आर्चरीकमा दीपक गुरुङ र जुडोमा देवु थापा नेपालका प्रशिक्षक रहनेछन्। (फोटो : राखेप)