
तनहुँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको क्रममा सोमबार तनहुँमा ट्रकमा आगजनी भएको छ।
भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना ४ ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दिपुर नगरपालिका ५ ऑधिखोलामा रोकी जलाएका हुन्।
बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट झारी उनीहरुले आगो लगाएका थिए।
आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटना लगत्तै पुगेको ईलाका प्रहरी कार्यालय डुम्रे र सशस्त्र प्रहरी बल मनकामना गणको टोलीले पानी हालेर निभाई थप क्षति हुनबाट जोगाएको थियो।
यस्तै सोही समूहले चोक्कर लिएर आएको ना ५ ख ४१३ नं. को ट्रकमा ढुंगामुढा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ।
ट्रकमा आगजनी गरेको आशंकामा प्रहरीले नेकपा माओवादीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नविन थापा रहेका छन्। अहिलेसम्म घटनाको जिम्मा कसैले लिएका छैनन्। अहिले सडकमा गाडी गुडेका छैनन्।