
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली क्रिकेटको अवस्था बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टोली सोमबार नेपाल आउने भएको छ।
आइसिसीले क्यानलाई निलम्बन गरेपछि टोली पहिलो पटक नेपाल आउन लागेको हो। आइसिसीका प्रतिनिधिहरु दुई समूहमा नेपाल आउन लागेका हुन्।
आइसिसी एसियाका डेपलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा, एकाउन्ट शाखाका अमर शेख तथा पाउल मामाहोन सोमबार नेपाल आउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पहिलोपोस्टलाई बताए। यस्तै आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसन र इमरान ख्वजाको टोली भने केही दिनपछि नेपालमा आउने कार्यतालिका छ। परिवर्तित नेपाली राजनितक अवस्थाका कारण उनीहरु आउने सम्भावना भने कम रहेको स्रोतले बतायो।
'आइसिसीका प्रतिनिधिले सुरुमा दुई वटा क्यानलाई छुट्टाछुट्टै भेट गर्ने र पछि संयुक्त रुपमा भेट गर्ने कार्यक्रम रहेको छ,' सदस्य सचिव विष्टले भने, 'मसँग आइसिसीका प्रतिनिधिले १३ गते भेट गर्ने कार्यक्रम छ।'
उक्त टोलीले क्रिकेटसँग सम्बन्धित सबै पक्षलाई समेत भेट्ने कार्यतालिका छ। आइसिसीको टोलीसँग क्यान सस्पेन्सन र त्यसपछिको स्थितिको बारेमा छलफल हुने विष्टले जानकारी दिए।
नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप बढेको भन्दै आइसिसीले गत वैशाख १३ मा क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो भने गत जुनमा स्कटल्याण्डमा बसेको आइसिसीको बैठकले निलम्बनको निर्णय अनुमोदन गरेको थियो। आइसिसीले क्यानलाई निलम्बन गरे पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्न भने वञ्चित गरेको छैन।
अगस्ट १३ र १५ मा नेदरल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली १० दिने बेलायत भ्रमण फर्किसकेको छ। बेलायतसँग कूटनीतिक सम्बन्ध २ सय वर्ष पुगेको अवसरमा क्रिकेटको मक्का मानिले बेलायतको लर्ड्स मैदानमा विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीसँग नेपाली टोलीले खेलेको थियो। उक्त खेलमा नेपाल ४१ रनले विजयी भएको थियो।