
काठमाडौं : नेकपा (माओवादी) नेत्रविक्रम चन्द समूहले आयोजना गरेको नेपाल बन्दका कारण आज मुलुकभरको जनजीवनमा प्रभाव देखिएको छ।
बिहानै सबेरैदेखि बन्दकर्ताहरुले केही गाडीमा आगजनी समेत गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै राजधानीमा दुई वटा ट्याक्सीमा आगजनी गरिएको छ। बिहान पौने ४ बजे नयाँबानेश्वरमा बा १ ज ५१६२ नम्बरको र सामाखुसीमा बा १२ ज २८६ नम्बरको ट्याक्सीमाथि बन्दकर्ताले आगजनी गरेका हुन्। उनीहरुले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले बताएको छ।
बन्द गराउँदै हिडेका ७० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बिक्रमसिंह थापाले बन्द गराउँदै हिँडेका कार्यकर्तालाई चाबहिल, गोङ्गबु, सामाखुसी, कलंकी लगायतका स्थानबाट पक्राउ गरेको पहिलोपोस्टलाई जानकारी गराए। यसरी पक्राउ पर्नेमा एरिया इन्चार्ज विकास थापा, विप्लव नेतृत्वको ट्रेड युनियन अध्यक्ष योगेन्द्र कुमाल समेत रहेका छन्। राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएकाले निर्धक्क भएर सवारी लिएर हिँड्नसमेत एसएसपी थापाले आग्रह गरे।
तनहुँ र चितवनमा ट्रक जलाइयो

तनहुँमा एउटा ट्रकमाथि आगजनी गरिएको छ। भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना ४ ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका ५ ऑधिखोलामा रोकी जलाएका हुन्।
बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट झारी उनीहरुले आगो लगाएका थिए। आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालय डुम्रे र सशस्त्र प्रहरी बल मनकामना गणको टोलीले पानी हालेर निभाई थप क्षति हुनबाट जोगाएको थियो।
सोही समूहले चोक्कर लिएर आएको ना ५ ख ४१३ नं. को ट्रकमा ढुंगामुढा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ।
.jpg)
ट्रकमा आगजनी गरेको आशंकामा प्रहरीले नेकपा माओवादीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नविन थापा रहेका छन्।
चितवनको रत्ननगरमा पनि बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ। बिहान करिब साढे १ बजेको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ। चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडौं औषधि लिएर आउँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो।
राजधानीमा निजी चले

राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन्।
सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा माओवादीले बन्द आह्वान गरेको हो।