PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

संविधानमा नभएको बाधा फुकाएर ओलीले लाज ढाक्ने प्रयास गरे : कर्ण



पहिलोपोस्ट

संविधानमा नभएको बाधा फुकाएर ओलीले लाज ढाक्ने प्रयास गरे : कर्ण

काठमाडौं : सद्भावना पार्टीका सांसद तथा कानुनविद् लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले आफ्नो लाज ढाक्न संविधानमा नभएको बाधा अड्काउ फुकाउ प्रस्ताव सिफारिस गरेको आरोप लगाएका छन्।

पहिलोपोस्टसँगको कुराकानीमा सांसद कर्णले ओलीले सुरुमा संविधानको सहारा लिएर सत्ता टिकाउन खोजेको र सबैको समर्थन गुमेर हट्नैपर्ने अवस्था आएपछि बाधा अड्काउ फुकाउको नाटक गरेर लाज ढाक्ने काम गरेको बताए।

‘महिलाहरुले लाज ढाक्न बुर्का लगाउँछन्, ओलीजीले पहिले नै संविधानअनुसार नयाँ प्रधानमन्त्री चयन हुन सक्दैन भनेर पूर्व सभामुखलाई बोल्न लगाउनुभयो,’ कर्णले भने, ‘अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुअगावै सबै सहयात्रीले साथ छोडेपछि विगतमा गरेका तर्कको बचाउका लागि मात्र उहाँले बाधा अड्काउ फुकाउ प्रस्ताव पठाएर फेस सेभिङ गर्नुभएको हो।’

उनले प्रधानमन्त्रीले संविधानको बाधा अड्काउ फुकाउ प्रस्ताव राष्ट्रपतिकहाँ लगेर संसदीय सर्बोच्चतालाई पनि चुनौती दिएको बताएका छन्। ‘संसद जारी रहेका बेला संविधानका विषयमा निर्णय गर्ने अधिकार अरुलाई हुँदैन,’ कर्णको तर्क छ, ’यदि ओलीजीलाई संविधान संसोधन आवश्यक लागेको भए त्यो प्रस्ताव संसदमा लैजान सक्नुहुन्थ्यो।’

उनले संसद्ले निर्वाचित गरेका प्रधानमन्त्रीले संसद् छलेर राष्ट्रपतिकहाँ प्रस्ताव लैजानु पनि ‘बेइमानी’ भएको बताए।

प्रधानमन्त्रीले लगेको संविधानको बाधा अड्काउ फुकाउने प्रस्तावलाई नेपाली कांग्रेसका सांसद रमेश लेखकले पनि ‘फेस सेभिङ’ भनेका छन्। ‘यो संविधानमा नयाँ प्रधानमन्त्री चयनका लागि कुनै बाधा छैन,’ लेखकले भने, ‘उहाँले विगतमा संविधानबाट मिल्दै मिल्दैन भनुभयो अब सरकार परिवर्तन हुने भएपछि आफ्नै तर्कको बचाउ गर्ने त्यो प्रस्ताव लानुभएको हो।’

उनले संविधान र व्यवस्थापिका संसद नियमावलीमा प्रस्ट व्यवस्था भएका विषयमा बाधा अड्काउ फुकाउने कुनै कारण नरहेको बताए।

पूर्व सभामुख समेत रहेका एमाले सांसद सुवासचन्द्र नेम्बाङले भने प्रधानमन्त्रीले पदमा बसिरहने इच्छा नै नराखेको भन्दै त्यही पदबाट हट्ने बाटो सहज बनाइदिएको दाबी गरेका छन्। ‘प्रधानमन्त्रीले हिजो पनि के सहयोग गर्नुपर्छ भनेर सोध्दै हुनुहुन्थ्यो, साथीहरु विधेयक नै प्रस्तुत हुन नदिने भनेर अविश्वासको प्रस्ताव लागेर १० दिन गुजारे,’ नेम्बाङले भने, ‘तर प्रधानमन्त्रीले आफैं बाटो फुकाइदिएर पदमा एक दिन पनि बस्न नचाहेको कुरा स्थापित गर्नुभएको छ।’

संसदमा नेम्बाङले नै संविधानअनुसार नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने दलिल प्रस्तुत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell