
झापा : केही दिनदेखिको वर्षाका कारण पूर्वी तराईको जनजीवन कष्टकर बन्दै गएको छ। वर्षापछिको बाढीमा परेर झापामा दुई जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता छन्।
मृतकहरुमा गोलधाप–८ मा ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्का रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ।
भारत घर भई कुमरखोद–४ मा बस्दै आएका १८ वर्षीय बाबुलाल मर्डी भने बेपत्ता छन्। उनलाई खोलाले बगाएको थियो।
सुनसरीको बुढीखोलामा आएको बाढीका कारण २० भन्दा धेरै परिवार जोखिममा छन्। विराटनगरका पनि अधिकांश बस्तीमा बाढी पसेको छ। सप्तरीमा झन्डै एक हजार घरमा क्षति पुगेको छ।
झापामा अहिलेसम्म ९ सय घरपरिवार विस्थापित भएका छन्। गेउरिया, अन्दुवा, टाङटिङबिरिङ, मेची, निन्दा, कनकाई, डुम्री, रतुवा लगायतका नदीमा पानीको सतह बढेपछि धेरै घरपरिवार विस्थापित भएका हुन्। यहाँ सबैभन्दा बढी ९७.४० मिलिमिटर वर्षा भएको कनकाई वर्षा मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ।
आज झापामा भने केही मात्रामा वर्षा रोकिएको छ। मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ९७.४० मिलिमिटर वर्षा मापन भएको छ।
बाढीबाट हजारौं मानिस प्रभावित छन्। विस्थापित भएकालाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।राससको सहयोगमा
फोटो : सशस्त्र प्रहरी बल (भीष्म सापकोटाको फेसबुक)