PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​नेविसंघ अधिवेशन सम्पन्न गर्न देउवाले गठन गरे निर्देशक समिति



पहिलोपोस्ट

​नेविसंघ अधिवेशन सम्पन्न गर्न देउवाले गठन गरे निर्देशक समिति

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको अधिवशेन सम्पन्न गराउन पाँच जना पार्टी केन्द्रीय सदस्य रहेको निर्देशन समिति गठन गरेका छन्।
 
नेविसंघ महाधिवेशनको १३ दिनअघि देउवाले गठन गरेको निर्देशक समितिमा डा. प्रकाशशरण महतसहित चार जना नेविसंघका पूर्वअध्यक्षलाई सदस्य तोकिएको छ।
 
महत संयोजक रहेको समिति सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्य किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल छन्। हिजो नै सभापति देउवाले निर्देशक समिति गठन गरे पनि पार्टी कार्यालयले आज मात्र विज्ञप्ति जारी गरी सार्वजनिक गरेको हो।

‘पार्टी नेताहरुसँग छलफल गरेर सभापतिले नै निर्देशक समितिमा जिम्मेवारी दिनुभएको हो,’ निर्देशक समिति सदस्य गुरुराज घिमिरेले भने, ‘यो समितिले नेविसंघ अधिवेशनलाई सम्पन्न गर्न सहजकर्ताको भूमिका खेल्नेछ।’

उनले निर्देशक समितिले पहिलो काम समयमा र मर्यादित रुपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिने पनि बताए।

‘विगतमा अधिवेशन किन हुन सकेन त्यसलाई बुझेर आन्तरिक असमझरी हटाएर अधिवेशन सम्भव गर्न पनि निर्देशक समिति गठन भएको हो,’ उनले भने, ‘लामो समयदेखि हुन नसकेको अधिवेशन अब होस् भन्ने मूल उद्देश्य हो।’

नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जीत कर्णले भने पार्टीले दुई महिनाअघि गठन गर्नुपर्ने निर्देशक समिति ढिला मात्र गठन भए पनि आफूले सकारात्मक रुपमा लिएको बताए।

‘ढिलै भए पनि पार्टीले नेविसंघ अधिवेशन सम्पन्न गर्न निर्देशक समिति गठन गरेको छ,’ अध्यक्ष कर्णले भने, ‘यसले नेविसंघ अधिवेशनमा आउन सक्ने कतिपय समस्याको समाधानको विश्वास लिएको छु।’

नेविसंघको ११औं राष्ट्रिय महाअधिवेशन आगामी साउन २३ गतेदेखि काठमाडौंमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell