
काठमाडौं : १६ दिनसम्म आमरण अनसन बसेका डाक्टर गोविन्द केसीले सोमबार अनसन तोडे। यस पटकको अनसन तोड्दा पनि उनले कुनै सरकारी व्यक्ति र मन्त्रीको हातबाट जुस पिएनन्।
उनलाई जसले जुस पिलाउने जो थिए, उनैले उपचार गरेका बिरामी थिए। तर तीनै जना फरक भूगोल, जात र समुदायका। अनेकतामा एकताको सांकेतिक दृश्य पनि थियो त्यो।
उनलाई जुस पिलाउनेहरुमा थिए, सिन्धुपाल्चोक गुम्बा गाविसका ५ वर्षीय सरोज नेपाली, हिमाली क्षेत्र गोरखाको लो गाविसका ३७ वर्षीय छेवाङ लामा र तराई मूलकी अनिता देवी महतो।
आफूहरुको हातबाट जुस पिलाएर अनसन तोडाउन पाउँदा खुसी लागेको उनीहरुले बताए।