PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बन्दमा ट्रक जलाउने नेकपा माओवादीका दुई कार्यकर्ताविरुद्ध मुद्दा



रासस

रत्ननगर (चितवन) : सोमबारको बन्दका क्रममा ट्रकमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।
 
सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा उनीहरुले आगजनी गरेका थिए। 
 
उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए।
 
तीन जना पक्राउ परेकामध्ये दुईविरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उनको भनाइ छ।
 
यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ छन्। उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो।

यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell