
काठमाडौं : संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अनुपस्थित भएका छन्।
स्वास्थ्यमा समस्या रहेको कारण देखाउँदै उनी समितिको बैठकमा नगएका हुन्। उनले पत्र पठाएर आफू अस्वस्थ रहेको जानकारी गराएका छन्।
पत्रमा घाँटीमा संक्रमण भएकाले बोल्न नसक्ने जनाइएको छ। एक हप्ता एन्टिबायोटिक खानका लागि डाक्टरले सल्लाह दिएकाले बैठकमा जान नसकेको पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ - 'मलाइ अचानक घाँटीमा संक्रमण भइ बोल्न समस्या भएको र चिकित्सको सुझावले एक हप्तासम्म एन्टिबायटिक अौषधीको प्रयोग गरि रहेकाले काबु बाहिरको परिस्थितिका कारण सम्मानित समिति समक्ष उपस्थित हुन असमर्थ रहेकोले समितिको बैठकमा आयोगका तर्फका आयोगका सचिव शान्तराज सुवेदीलगयात सम्बन्धि कर्मचारी उपस्थित भइ विषयवस्तुको जानकारी गराउनुहुने व्यहोरा निवेदन गर्दछु।'
अख्तियारका तर्फबाट सचिव शान्तराज सुवेदी लगायत भने उपस्थित भए। उक्त पत्रमा पनि सचिव जानेबारे उल्लेख गरिएको छ।
समितिको बैठकका लागि कार्कीसहितका पदाधिकारीलाई बोलाइएको थियो। काठमाडौं विश्वविद्यालयमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको परीक्षा अख्तियारले नै सञ्चालन गरेको विषयमा स्पष्टीकरणका लागि कार्की सहित आयुक्तहरुलाई बोलाउने समितिले यसअघि नै निर्णय गरेको थियो।
यसअघि गत बर्षको कात्तिक ३० गते संसदको कृषि तथा जलश्रोत समितिमा निम्त्याइए पनि अख्तिायरका प्रमुख आयुक्तले कामु सचिव प्रेमकुमार राई मार्फत समितिको क्षेत्राधिकार बाहिर भएको भन्दै नआउने जनाएको थियो।