PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

केयुको परीक्षामा अख्तियारको संलग्नताबारे छानबिन गरिने, ५ सदस्यीय उपसमिति गठन



पहिलोपोस्ट

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु) चिकित्सा शास्त्रअन्तर्गत स्नातकोत्तर तहको परीक्षामा अख्तियारको संलग्नताबारे छानबिन गर्न पाँच सदस्यीय उपसमिति गठन भएको छ।
 
आज बसेको संसदको सुशासन तथा अनुगमन समितिको बैठकले पाँच जनाको उससमिति बनाएको हो। जसमा पद्मनारायण चौधरी, जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, मिलन राजवंशी र नरसिंह चौधरी रहेका छन्।
 
बैठकमा धारणा राख्ने सांसदहरुले परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बताएका थिए। 'जुन दिन परीक्षा हुनुपर्ने, त्यही दिन अख्तियार कसरी पस्यो?' सांसद हर्कबोल राईले भने, 'अगाडि नै जानकारी गराउन सकिन्थ्यो तर किन यति छिट्टै अख्तियारले एक्सन लियो बुझ्न सकिएन।'
 
आयोगले भने प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन जस्ता विषयमा आयोगको विज्ञता नभएको र त्यसमा कुनै संलग्नता नभएको जनाएको छ। 'विश्वविद्यालयको बाहिरी हातामा बसेर प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनको अनुगमन निरीक्षण मात्रै गरिएको हो,' आयोगको तर्फबाट बैठकमा पेश गरिएको स्पष्टीकरणमा भनिएको छ।


तर सांसदहरुले अख्तियारको संलग्नताको विषयमा छानविन हुनुपर्ने बताएका थिए। सांसद जनकराज जोशीले केयुको घटना आन्तरिक द्वन्द्व मिलाउन नसक्दाको अवस्थामा संवैधानिक अंग तानिन पुगेको रुपमा आफूले लिएको बताए। 

सांसद उदय नेपालीले केयुको प्रश्नपत्र आउट नै नभएको अवस्थामा विश्वविद्यालयको भविष्यमा खेलवाड हुन लागेको देखिएको बताए। 

'केयुमा अख्तियार कार्यक्षेत्र बाहिर गएर त्यहाँ जानुपर्ने कारण यथेष्ट देखिन्न, सांसद सुशीला नेपालले भनिन्, 'उजुरी आयो भन्दैमा कार्यक्षेत्र बाहिर हस्तक्षेप गर्नुको यथेष्ट प्रमाण भएन।' 


आयोगका तर्फबाट उपस्थित भएका सचिव शान्तराज सुवेदीले परीक्षा सञ्चालन सम्बन्धमा आफ्नो संवैधानिक कानुनी दायराभन्दा बाहिर गएर विश्वविद्यालयमा हस्तक्षेप नगरेको समेत दाबी गरेका छन्।
 
स्वास्थ्यमा समस्या रहेको कारण देखाउँदै आयोग प्रमुख लोकमानसिंह कार्की भने आजको बैठकमा गएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell