PahiloPost

Jun 15, 2025 | १ असार २०८२

२६ वर्षे युवकको छुरीले लियो १९ को ज्यान, दोस्रो विश्वयुद्धपछिको ठूलो मास किलिङ



पहिलोपोस्ट

२६ वर्षे युवकको छुरीले लियो १९ को ज्यान, दोस्रो विश्वयुद्धपछिको ठूलो मास किलिङ

सागामिहरा : शान्त र सुरक्षित मानिने जापानमा चक्कुको प्रहारबाट कम्तिमा १९ जना मारिएका छन् भने २० जना घाइते भएका छन्। जापानको राजधानी टोकियोभन्दा बाहिर अपाङ्गहरुलाई राखिने ठाउँमा चक्कु प्रहार गरी हत्या गरिएको हो।

टोकियोबाट ५० किलोमिटर दुरीमा रहेको सागामिहरा सहरमा अपाङ्ग राखिने केन्द्रबाट प्रहरीलाई बिहान २:३० बजे फोन आएको थियो। फोन गर्नेले 'डरलाग्दो घटना भयो' भन्ने सूचना दिएको प्रहरीले जनाएको छ।

दुई घन्टापछि एक व्यक्ति प्रहरी चौकीमा आए। उनले चक्कु आफ्नो कारमै छाडेर चौकी छिरेका थिए। मानिसको हत्या गरेको अनुमानमा प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लियो। समातिने व्यक्तिलाई प्रहरीले सातोसी युमेत्सु भनेको छ जसले त्यही काम गर्ने गरेको जनाएको छ। जापानी मिडियाले उनको उमेर २६ रहेको जनाएको छ।

टेलिभिजन फुटेजमा घटनास्थल बाहिर एम्बुलेन्स पार्क गरेर राखिएको देखाएको छ भने चिकित्सक र उद्दारकर्ता दौडादौड गरेको देखिएको छ।
घटनास्थलमा प्रहरी बिहान ३:३० मा मात्रै प्रवेश गरेको एक महिलाले जापानी टेलिभिजन एनएचकेलाई बताएकी छिन्।

'असुरक्षा रहेकाले प्रहरीले मलाई घरभित्रै बस्न भनेको थियो,' उनले भनिन्, 'एम्बुलेन्स आएपछि रगत लतपतिएका मानिसहरुलाई उठाएर लगे।'

दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा ठूलो आम संहारका रुपमा घटनालाई लिइएको छ।

बिहान २:१० बजे ती युवक झ्यालको सीसा फोडेर त्यहाँ छिरे। जापानी ब्रोडकास्टर एनटिभीले जनाएअनुसार युमेत्सु  जागिर गुमेकोमा आक्रोशित थिए।

जापानको क्योदो न्युज सर्भिसका अनुसार मानसिक अपाङ्गता भएका १ सय ५० जनालाई राखिएको सुकाइ यामायुरी इनभित्र यस्तो घटना भएको हो।

आम संहार जापानमा तुलनात्मक रुपमा कम हुने गर्छ। सन् २००८ मा सात जना मानिसलाई एउटा ट्रकले भिडमा किचेको थियो। एक वेरोजगारले ट्रक मानिसहरुको भिडमा कुदाएर रीस पोखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell