PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

'कामचलाउ' सरकारलाई सांसदको ध्यानाकर्षण, बाढीपहिरोका पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग



पहिलोपोस्ट

'कामचलाउ' सरकारलाई सांसदको ध्यानाकर्षण, बाढीपहिरोका पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

काठमाडौं : देशका विभिन्न ठाउँमा भएको बाढी पहिरोको क्षतिका विषयमा सांसदहरुले आजको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।
 
मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले डुबानको समस्याबारे उठाएका छन् भने पहाडका सांसद्हरुले पहिरोको समस्याले जनता पीडित भएको जनाएका छन्। संसद्को विशेष समयमा बोल्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै जनताका समस्याबारे आवाज उठाएका हुन्।
 
संसदमा अविश्वास प्रस्ताव आएर अल्पमतमा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार कामचलाउ भएको छ। त्यही कामचलाउ सरकारलाई सांसद्हरुले भने ध्यानाकर्षण गर्दै जनताका समस्या समाधान गर्न आग्रह गरेका हुन्।
 
बैठकको सुरुवातमै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अविरल वर्षाको कारण तराई मधेसमा अधिकांश जनता डुबानबाट पीडित भएको भन्दै जनताको उद्धार र राहतका लागि तत्काल पहल गर्न माग गरे। तराईका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै यादवले उनीहरुको प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनले बाढी पहिरोका कारण वर्षौदेखि जनता पीडित भएको भन्दै प्राकृतिक प्रकोपको नियन्त्रण तथा आवश्यक पूर्वतयारीका लागि दीर्घकालिन योजना तय गर्न समेत माग गरे।
 
एमालेका बैद्यनाथ चौधरीले नवलपरासी जिल्लाका विभिन्न गाविसमा जनता बाढीको कारण सयौं घर भत्किएर घरबारविहीन अवस्थामा भएको बताए। चौधरीले यो बाढी २०४६ सालपछिको सबैभन्दा ठूलो भएको बताएका छन्। पीडितहरुको खाना तथा पानीको व्यवस्था गर्न जिल्ला दैवी प्रकोप समितिबाट राहत तथा उद्धारको काम नहुँदा महिला तथा बालबालिकासहित आमनागरिक समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले खानेपानी र बिजुलीको आपूर्ति नहुँदा जनता आतंकित हुनुपरेको बताए।
 
माओवादीका शिवकुमार मण्डल केवटले मोरङका बाढी पीडित जनताको उद्धार तथा राहत वितरण कार्य तत्काल सुरु नभए ठूलो महामारी आउन सक्ने भन्दै सरकारलाई समयमै सजग हुन आग्रह गरे।
 
फोरम लोकतान्त्रिकका सुवोधकुमार पोख्रेलले पनि बाढी पहिरोले पीडित जनताको राहतका लागि सरकार राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बेला बहुमतीय सरकार निर्माणको खेलले समाधान नदिने बताए।
 
तमलोपाका बृजेशकुमार गुप्ताले पहाडमा जाने पहिरो र तराईमा आउने बाढी नयाँ नभएको भन्दै जनतालाई यस्ता संकटबाट मुक्त राख्न सरकारले पूर्वतयारी गर्न नसकेकोमा सरकारको आलोचना गरे। गुप्ताले कपिलवस्तुमा बाडगंगा नदीमा बाढी आउँदा ६ जना मानिस रातभरि रुखमा बसेर ज्यान बचाउका लागि उद्धार टोली पर्खेर बसे पनि जान नसकेको जानकारी गराए।
माओवादीका धानु महरा तथा नागेन्द्रप्रसाद थारु तथा नेमकिपाका प्रेम सुवाल सांसद नागेन्द्र प्रसाद थारुले पनि सरकारको ध्यानाकर्षण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell