PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

भक्तपुर र थिमि पनि डुबानमा, नगरकोटमा तीन घर पुरिए



पहिलोपोस्ट

  • रमेश गिरी
भक्तपुर : लगातारको वर्षाका कारण भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन्।
  
मध्यरातिदेखि हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेका हुन्।
  
त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन्।
 
सिद्धिस्मृति अस्पताल डुबानमा पर्दा लाखौं बराबरको यान्त्रिक सामान र उपचार तथा विद्यालय डुबानमा पर्दा पढाइ प्रभावित भएको छ। हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायत क्षेत्रमा पानी पसेर सडक र खोलाभन्दा चार फिटसम्म उचाइमा पानी गएपछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ।
  
उता अविरल वर्षाका कारण नगरकोट नगरपालिका– ११ मा गएराति तीन घर पहिराले पुरिएका छन्। वर्षाका कारण माथिबाट पहिरो आउने र तलबाट पहिरो जाने भएपछि राति १ बजेदेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखा, स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेको रेडक्रस उपशाखाका सभापति एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताए।
 
स्थानीय नवराज लामिछाने, ईश्वरी लामिछाने र गणेश लामिछानेको परिवार बस्दै आएको टहरा समेत पहिराले पुरिएका छन्। पुरिएका घर र जोखिममा परेका घर तथा टहराका बासिन्दा र सामानको उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell