
इम्फाल : भारतको मणिपुरमा सैनिक दुर्व्यवहारको विरुद्ध अनशनमा बस्दै आएकी इरोम शर्मिलाले १६ वर्षपछि अनशन त्याग्ने र चुनावमा भाग लिने निर्णय गरेकी छिन्।
४४ वर्षीया उनले मणिपुर जिल्ला अदालतमा आगामी अगस्ट ९ मा अनशन अन्त्य गर्ने जानकारी दिइन्। उनले अदालतमा बिहे गर्ने इच्छासमेत जाहेर गरिन्।
उनले मणिपुरमा हुने आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेसमेत सुनाइन्।
अनशनमा बसेकी उनलाई सरकारले ट्युबबाट जबरजस्ती खुवाउँदै आएको छ। १४ वर्षदेखि उनलाई फोर्स फिडिङ गरिँदै आएको छ।
उनले आत्महत्या गर्न खोजेको भन्दै उनीविरुद्ध मुद्दा पनि परेको थियो। त्यसले उनलाई बारम्बार अदालत पुर्याएको छ। उनले सन् २०१४ मा ट्युव निकालेर फ्याकेपछि उनलाई यस्तो मुद्दा लगाइएको थियो।
उनलाई अरविन्द केजरिवालले आम आदमी पार्टीबाट उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए तर उनले अस्वीकार गरिन्।
शर्मिला जम्मा २७ वर्षकी थिइन् जतिखेर उनले अनशन थालिन्। सन् २००० को नोभेम्बरमा उत्तरपूर्वी भारतीय राज्यमा आर्म्ड फोरुस स्पेसल पावर एक्ट लागू भएपछि उनी त्यसविरुद्ध उत्रिएकी हुन्। उनले अनशन थाल्नु १० केही दिनअघिमात्रै दुई बालबालिकासहित १० मानिसलाई असम राइफल्सका सुरक्षाकर्मीले गोली हानी मारेका थिए।
यो कानुनले हतियारधारी सैनिकलाई शंकाकै भरमा गोली चलाउने अधिकार दिएको थियो। सुरक्षाकर्मीलाई विना कुनै वारेन्ट गिरफ्तार गर्न सक्ने अधिकार समेत दिइएको थियो।
इम्फाल कलेजकी विद्यार्थी वेवी सिरिन भन्छिन्, 'उनले राजनीतिमा प्रवेश गर्ने हो भने यो कानुनविरुद्ध सशक्त आन्दोलन गर्न सकिन्छ जुन प्रभावकारी पनि हुन्छ। अनशन धेरै लामो गयो र कुनै असर पार्न सकेन।'