PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

एपिएफ बन्यो महिला राष्ट्रिय क्रिकेट च्याम्पियन, पूर्वाञ्चल १० रनले पराजित



पहिलोपोस्ट

एपिएफ बन्यो महिला राष्ट्रिय क्रिकेट च्याम्पियन, पूर्वाञ्चल १० रनले पराजित

काठमाडौं : विभागीय टोली सशस्त्रको एपिएफले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
 
आगामी अगस्टमा हङकङमा हुने आइसिसी विश्वकप एसियाली छनोटका लागि भएको प्रतियोगितामा पूर्वाञ्चललाई १० रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। उपाधिसँगै एपिएफले नगद १ लाख, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको पूर्वाञ्चलले ५० हजार पाएको छ। सिनियर महिला क्रिकेटमा यो सर्वाधिक पुरस्कार राशी हो।
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ६५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चललाई एपिएफले ५४ रनमा रोक्दै जित हासिल गरेको हो।
 
वर्षाले मैदान भिजेपछि फाइनल खेल १० ओभरमा छोट्याइएको थियो। खेलमा टस जितेर पूर्वाञ्चलले फिल्डिङ रोजेपछि एपिएफले पहिले ब्याटिङ गर्दै १० ओभरमा १ विकेट गुमाउँदै ६४ रन बनायो।
 
एपिएफको लागि सीता राना मगरले सर्वाधिक २९ रन बनाइन् भने सरिता राना मगरले २२ रनको योगदान गरिन्। ज्योति पाण्डे ८ रनमै आउट भइन्। पूर्वाञ्चलको लागि एक मात्र विकेट कविता गौतमले हात पारिन्।
 
जवाफमा राष्ट्रिय टीमको कप्तान समेत रहेकी रुविना क्षेत्रीको नेतृत्वमा रहेको पूर्वाञ्चलले ५ विकेट गुमाउँदै ५४ रन मात्र बनाउन सक्यो। उसका लागि रुविनाले नटआउट रहँदै सर्वाधिक १६ रन बनाइन् भने रश्मि शर्माले १२ रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
 
पूर्वाञ्चललाई जितबाट रोक्न एपिएफकी करुणा भण्डारीले ३ खेलाडीलाई रनआउट गरिन् भने एक विकेट समेत लिइन्। यस्तै सरिता मगरले एक विकेट झारिन्।
 
फाइनल खेलको प्लेअर अफ दि म्याच बनेकी एपिएफकी सरिता मगर प्लेअर अफ दी टुर्नामेन्ट घोषित भइन्। सरिताले नगद १० हजार पुरस्कार प्राप्त गरिन्।
 
यस्तै मध्यपश्चिमाञ्चलकी लक्ष्मी चौधरी बेस्ट ब्याट्सवूमन तथा पूर्वाञ्चलकी सन्तोषी चौधरी बेस्ट बलर घोषित भइन्। लक्ष्मीले प्रतियोगितामा सर्वाधिक ६१ रन बनाएकी थिइन् भने बलरतर्फ सन्तोषीले सर्वाधिक ६ विकेट लिइन्।
 
उत्कृष्ट दुवै खेलाडीले जनही ५ हजार नगद प्राप्त गरे। विजेता टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरेका थिए।
 
नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानलाई आइसिसीले निलम्बन गरेपछि राखेपले क्रिकेट समन्वय कमिटी बनाउँदै यस प्रतियोगिताको आयोजना गरेको हो।
 
अब उत्कृष्ट २४ खेलाडी छनोट गरेर आगामी विश्वकप छनोटका लागि क्लोज क्यामपमा राखिने राखेपले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell