PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

नेपाल-भारत महिला मैत्रीपूूर्ण भलिबलको तयारी पूरा, भारतीय टीम बुधबार आउँदै



पहिलोपोस्ट

नेपाल-भारत महिला मैत्रीपूूर्ण भलिबलको तयारी पूरा, भारतीय टीम बुधबार आउँदै

काठमाडौं : नेपाली राष्ट्रिय महिला टीम र भारतीय राष्ट्रिय महिला टीमबीच हुन लागेको दुई मैत्रीपूर्ण भलिबल खेलको तयारी पूरा भएको नेपाल भलिबल संघले बताएको छ।
 
मंगलबार एक कार्यक्रममको आयोजना गर्दै संघले मैत्रीपूर्ण खेलका लागि सम्पूर्ण तयारी पूरा भएको र भारतसँग खेल्न नेपाली महिला खेलाडी तयार रहेको बताएको हो।
 
नेपाल भलिबल संघको आयोजनामा नेपाल र भारतको महिला टोलीले बिहीबार र शुक्रबार दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।
 
यस्तै नेपाल र भारतबीचको खेल एफआइभिबीले उपलब्ध गराएको नयाँ म्याटमा हुने पनि संघले जानकारी दिएको छ। फिभ्बले पहिलो पटक नेपाललाई जेरफ्लोर टाराफ्लेक्स म्याट उपलब्ध गराएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।
 
चन्दले उक्त म्याटको ओपनिङ सेरेमोनी समेत गर्नुपर्ने र उक्त सेरेमोनीको फोटो तथा भिडियो फिभ्बलाई पठाउनुपर्ने बताए। चन्दका अनुसार फिभ्बले यो पटक नेपाल सहित भियतनाम र अफगानिस्तानलाई उक्त म्याट प्रदान गरेको हो।
चन्दले पहिलो दिन ओपनिङ सेरेमोनी हुने र त्यसपछि खेल हुने बताए।
 

खेलाडीलाई प्लेइङ सुज हस्तान्तरण


भलिबल संघले नेपाली महिला खेलाडीलाई भारतविरुद्ध खेल्दा लगाउने प्लेइङ सुज पनि प्रदान गरेको छ। संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले राष्ट्रिय टीमकी कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई प्लेइङ सुज प्रदान गरेका हुन्। यसअघि नै अन्य सामग्रीहरु प्रदान गरिसकेको संघले बताएको छ।
 

यी हुन् भारतविरुद्ध खेल्ने १२ खेलाडी

नेपाल भलिबल संघले भारतविरुद्ध खेल्ने १२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिसकेको जानकारी गराएको छ। एक महिनादेखि बन्द प्रशिक्षणमा रहेका १७ खेलाडीबाट संघले १२ सदस्यीय अन्तिम टोली छनोट गरेको हो।
 
विनिता बुढाथोकी कप्तानीमा रहेको टोलीमा मन्जु गुरुङ उपकप्तान, सरस्वती चौधरी, रेश्मा भण्डारी, नेविका चौधरी, कमला पुन, कोपिला उप्रेती, अरुणा शाही, उषा विष्ट, मनिषा विष्ट, कृपा अधिकारी र प्रतिभा माली रहेका छन्। नेपाली टोलीमा १२ औं दक्षिण एसियाली खेलकुद खेलेका अधिकांश खेलाडी रहेका छन्।
 

‘भारतविरुद्ध खेल्न नेपाली टोली तयार’

महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक सुदेशकुमार रिमालले भारतविरुद्ध खेल्न नेपाली खेलाडी तयार रहेको बताए।

'हामीले एक महिनादेखि बन्द प्रशिक्षण रहेर तयारी गरेका छौं। समयअनुसार पर्याप्त तयारी गर्न नपाए तापनि यो समयमा राम्रो गर्ने प्रयास गर्नेछौं,' रिमालले भने, 'भारत हामीभन्दा माथिल्लो स्तरको टोली हो, हामी जित्छौं भनेर नै खेल्छौं, तर नजिते पनि राम्रो खेल्ने प्रयास रहनेछ।'
रिमालले दक्षिण एसियाली खेलकुदमा भन्दा अहिलेको नेपाली टोली राम्रो रहेको र सुधारिएको प्रदर्शन गर्ने दाबी गरे।
 
'त्यतिबेला विदेशी कोच थिए, जसले गर्दा नेपाली खेलाडीमा तालमेलको अभाव देखियो,' उनले भने, 'अहिले टीम पहिलेको भन्दा राम्रो भएकाले उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं।'
 
यता संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली टोलीले जित्छौं भनेरै खेल्नुपर्ने बताए। भारतीय टोलीलाई देख्दा नर्भस हुने होइन, हात मिलाउँदा पनि हामी जित्छौं भनेर मनोबल उच्च राख्नुपर्ने भन्दै खेलाडीलाई हौसाए। 'नेपालले भारतलाई जित्नैपर्छ, यस पटक जितेरै देखाउनुपर्छ,' शर्माले भने।

नेपालसँग खेल्ने भारतीय महिला भलिबल टीम बुधबार काठमाडौं आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell