PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​बाढीले लियो प्यूठानमा १४ जनाको ज्यान, २४ बेपत्ता



पहिलोपोस्ट

​बाढीले लियो प्यूठानमा १४ जनाको ज्यान, २४ बेपत्ता

प्यूठान : सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना बेपत्ता भएका छन्। उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ।
 
लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयवासी करिब ३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रेम थापा, ४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशिला केसीको मृत्यु भएको छ।
 
त्यस्तै झिमरुक नदीमा थप पाँच जनाको शव फेला परेको छ। झिमरुक नदीको बागदुला पक्की पुलमुनि अन्दाजी ११ वर्षीया बालिका, प्यूठान नगरपालिकाको बिजुवारमा निर्माणाधीन भवन नजिकै अन्दाजी ४५ वर्षीय पुरुष र खैरा झोलुङ्गे पुलनजिक पहिचान हुन नसकेको एक जनाको शब फेला परेको प्रहरीले जनाएको छ।
 
अविरल वर्षाका कारण पुजाँ–१ मा घर भत्किँदा ३५ वर्षीया सुपारी मल्ल र उहाँका छोरा ११ वर्षीय मुकेश मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। त्यस्तै बिजुवारमा माजकोट गाविसकी जाली पुनको शव फेला परेको छ। त्यस्तै खवाङ–३ मा घर भत्किँदा ८० वर्षीय दविरे सुनार र ८० वर्षीया कुटली सुनारको मृत्यु भएको छ।
 
त्यस्तै उत्तरी प्यूठानको अर्खा–६ गाविसमा गोठ बस्न गएका देवबहादुर बुढासहित उहाँका छोरा र छोरी बेपत्ता भएका छन्। अविरल वर्षासँगै जिल्लाको जनजीवन अत्यन्त प्रभावित भएको र जिल्लाभरमा बाढीले क्षति गरेकाले उद्धार कार्य जारी राखिएको प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताए।
 
लगातारको वर्षाका कारण जिल्लामा हालसम्ममै ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। पहिरो र बाढीका कारण फोप्ली–३ र ४ मा १४ जना बेपत्ता भएका छन्। उत्तरी प्यूठानको अर्खामा आठ र खवाङमा एकजना बेपत्ता भएका छन।
 
त्यस्तै फोप्लीमा भएको घटनामा तीनजना विद्यार्थी र ११ जना स्थानीय बेपत्ता भएका छन्। स्थानीय झन्डै २०० परिवार फोप्लीमा विस्थापित भएका छन्। अहिले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट उद्धार टोली घटनास्थल जाने क्रममा रहेको प्रहरीले जनाएको छ। जिल्लाभरमा बाढीका कारण धेरै मानवीय क्षति भएको हुन सक्ने प्रजिअ जनकराज पन्थले बताए।
 
बाढीका कारण फोप्ली, लुङ, उदयपुरकोट, रजवारा, स्याउलिवाङ र अर्खाका ३५० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई नजिकैको विद्यालयमा सारिएको छ । उद्धारका लागि जिल्लाभरमा नेपाली सेना, नेपाल प्रहरीलाई परिचालन गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ पन्थले बताए। रासस

(कभर फोटो : सोमबार रातभर परेको लगातार वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित देविनगर र बुद्धनगर जोडने झोलुङ्गे पुल बगाएको छ। तस्बिर : सुमित्रा अधिकारी, बुटवल, रासस)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell