काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्तास्वरुप अनुदान रकम उपलब्ध गराउने गरी २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ।
प्राधिकरणका अनुसार चार लाख ७४ हजार ४४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ।
उक्त रकम स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्रालयमार्फत जाने गरी अख्तियारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ। अनुदान रकम व्यवस्थापन गर्नका लागि दातृ निकाय र नेपाल सरकार गरी १९ अर्ब ३३ करोड नौ हजार १५० रुपैयाँ खर्च गर्न सकिनेछ । बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था रहेको छ।
उपत्यका बाहिरका भूकम्प अतिप्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकामा गरी पाँच लाख ३३ हजार १६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ । त्यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि पहिलो किस्ताको अनुदान रकम एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।
चालू आर्थिक वर्षमा पुनर्निर्माणका कार्य अघि बढाउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिब ८४ अर्ब रुपैयाँको बजेट अख्तियारी प्रदान गरिसकेको छ । कुल अनुदान पाउन अनुदान सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थासँग सम्झौता भइसकेको छ ।
उनीहरुले प्राधिकरणबाट तोकिएका बैंकमार्फत नेपाल सरकारले उपलब्ध गराएसरह पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु ८० हजार र तेस्रो किस्ताबापत रु ७० हजार उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । उल्लिखित अख्तियारीमा गैरसरकारी संस्थामार्फत उपलब्ध गराइने रकम समावेश गरिएको छैन ।
काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सर्भेक्षण सुरु भएको छ भने भूकम्प प्रभावित अन्य १७ जिल्लामा सर्भेक्षण गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए। रासस