काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको 'मानसिक अवस्था ठीक नभएको' आरोप कांग्रेस सांसद अमरेशकुमार सिंहले लगाएपछि साउन ८ गते एमाले सांसदहरुले संसदमा विरोध जनाएका थिए। लगत्तै सभामुख ओनसरी घर्तीले सिंहको शब्द संसदको रेकर्डबाट मेटाउन लगाएकी थिइन्।
यस्तै अपशब्दको घटना मंगलबार दोहोरिएको छ। संसद बैठकमा कांग्रेसकै अर्का सांसद सुरेन्द्र चौधरीले एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवास नेम्वाङलाई 'ग्याङ्ग'का नेता भन्दै अपशब्द प्रयोग गरेका हुन्।
बाधा अड्काउ माथिको छलफलको क्रममा चौधरीले नेम्वाङ माथि ग्याङको नेता भनेपछि एमाले सांसदहरुले नियमापत्ती गरे। सांसद कृष्णभक्त पोखरेलले शब्दलाई रेकर्डबाट हटाउन मात्रै माग गरेनन् शब्द प्रयोगका सन्दर्भमा निर्देशन दिन समेत सभामुख समक्ष माग गरे।
सम्बन्धित समाचार : के भनेका थिए अमरेशकुमारले जसको संसद भित्रै विरोध भयो
पोखरेलले माग गरे पनि सभामुखले मंगलबार केहिबेर निर्देशन दिइनन्। उनले रोष्टमबाट बोलिरहेका सुरेन्द्र चौधरीलाइ समय सकिएको भन्दै बिदा दिइन्। तर एमालेका अर्का सांसद रामेश्वर फुयाँलले बोल्न खोजिरहे। एमाले सांसदहरु सिटमा उठ्न थाले। उनीहरु नबसेपछि घर्तीले पटक पटक बस्न आग्रह गरिन्।
अनि रुलिङ गर्दै भनिन् – 'माननीय सदस्यले बोल्ने क्रममा ग्याङ भन्ने शब्द प्रयोग गर्नु भएको छ। त्यसलाइ हटाउन म सचिवालयलाई निर्देशन दिन्छु।'
उनले संसदमा शिष्ट र मर्यादित भाषा प्रयोग गर्न अनुरोध समेत गरिन्।