PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

१० दिनदेखि लगातार पहिरो खस्न थालेपछि गाउँले घर छोड्न बाध्य, ५० परिवार उच्च जोखिममा



रासस

बेनी (म्याग्दी) :  म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो अझै रोकिएको छैन। निरन्तर पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकहाँ बस्न बाध्य भएका छन्।
 
गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीरबाट १० दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथ सोही दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन्।
 
निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीँबाट आएको पहिराले एक घर र दुई गोठ बगाइसकेको छ। तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले दिएको जानकारीअनुसार तोराखेतको कृषि सडकदेखि तल झाँक्रीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले बगरफाँटको कुरुङदी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा छन्।
 
बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दूधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि खानेपानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीय टीकाकुमारी घिमिरेले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell