PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गोन्जालो हिगुएन विश्वकै तेस्रो महँगो खेलाडी



पहिलोपोस्ट

गोन्जालो हिगुएन विश्वकै तेस्रो महँगो खेलाडी

अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिगुएन विश्वकै तेस्रो महँगो खेलाडी बनेका छन्।

इटालियन जायन्ट युभेन्ट्ले अर्को क्लब नेपोलीबाट हिगुएनलाई ७५ दशमलव ३ मिलियन पाउण्डमा क्लब भित्र्याएपछि उनी तेस्रो महँगो खेलाडी बनेका हुन्।

टोरिनो क्लबले २८ वर्षे हिगुएनसँग ५ वर्षे सम्झौता गरेको छ। युभेन्ट्सले दुई किस्तामा नेपोलीलाई 'ट्रान्सफर फि'बापत ९० मिलियन युरो तिर्नेछ। क्लबले आफ्नो अफिसियल वेबसाइटमार्फत हिगुएनले ५ वर्षको सम्झौता गरेको उल्लेख गरेको छ।

यससँगै अर्जेन्टाइन स्टार हिगुएनले करबाहेक वार्षिक ६ दशमलव ३ मिलियन पाउण्ड कमाउनेछन्।

युभेन्ट्समा अनुबन्ध भएसँगै हिगुएन खेलाडी ट्रान्सफरमा तेस्रो महँगो खेलाडी समेत बनेका छन् भने डोमेस्टिक ट्रान्सफरमा अहिलेसम्मकै सबैभन्दा महँगो खेलाडी बनेका हुन्।

हिगुएनभन्दा रियल मड्रिड स्टारद्वय गारेथ बेल र क्रिस्टियानो रोनाल्डो महँगो खेलाडीको सूचीमा अगाडि छन्।

रियलले बेललाई टोटनहमबाट ८५ मिलियन पाउण्ड र रोनाल्डोलाई म्यानचेष्टर युनाइटेडबाट ८० मिलियन पाउण्डमा क्लब भित्र्याएको थियो।
एउटै देशको लिगमा भने यसअघि इंग्लिस क्लब चेल्सीले फर्नान्डो टोरेसलाई लिभरपुरबाट ५० मिलियन पाउण्डमा किनेको थियो।
सन् २०१३ मा ३४ दशमलव ५ मिलियन पाउण्डमा रियलबाट नेपोली गएका हिगुएनले अर्जेन्टाइन क्लब रिभर प्लेटबाट क्लब करियर सुरु गरेका थिए।

सन् १९९९ मा १२ वर्षको उमेरमै रिभर प्लेटको युथ टीमबाट प्रवेश गरेका हिगुएनले २००५ मा उक्त क्बको सिनियर टोलीबाट खेल्न थालेका थिए। उनलाई २००६ मा रियलले १० मिलियन युरोमा किनेको थियो।

हिगुएनले गत सिजन सिरी ए मा नेपोलीबाट सर्वाधिक ३६ गोल गर्दै गोल्डेन बुटको अवार्ड जितेका थिए। हिगुएन सिरी ए मा ६६ वर्षे पुरानो रेकर्ड तोड्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन्। तर गत सिजन नेपोली उनको नयाँ क्लब युभेन्ट्ससँग पछि पर्दै उपविजेता बनेको थियो।

हिगुएनले अब नयाँ क्लब युभेन्ट्समा अल्भारो मोराटाको स्थान लिनेछन् भने अग्रपंक्तिमा अर्का अर्जेन्टाइन युवा स्टार पाउलो डाएबलासँग खेल्नेछन्। स्पेनिस खेलाडी मोराटा युरोकप सकिएपछि पुन: रियल मड्रिड फर्केपछि युभेन्ट्स नयाँ फरवार्डको खोजीमा थियो। (एजेन्सीको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell