PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पहिरोका कारण घाइते ​८ महिने गर्भवतीलाई सेनाको हेलिकोप्टरबाट गरियो उद्धार



रासस

बागलुङ : पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। आठ महिने गर्भवती समेत रहेकी तामाङको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
 
जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष पहलमा हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको हो। पहिरोका कारण उनकी ८ वर्षीया छोरी तुजी र २२ वर्षीया भतिजी डिकीको मङ्गलबार निधन भएको थियो।
 
प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले सुशीलाको अवस्था अति संवेदनशील भएका कारण हेलिकोप्टरबाट काठमाडौं लाने व्यवस्था गरिएको बताए। 'उहाँ आठ महिनाको गर्भवती पनि रहेको पाइयो, पहिरोका कारण परिवारका अन्य सदस्य पनि गुमेका छन्,' उनले भने, 'ठाउँ–ठाउँमा सडक पनि अवरुद्ध भएकाले हेलिकोप्टर झिकाउन विशेष पहल गरिएको हो।'
 
बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि सुशीलालाई काठमाडौं लगिएको हो। सोमबार रातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी उनी घाइते भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell