काठमाडौँ : सङ्घीय समाजवादी फोरमका नेता लालबाबु रावतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताएका छन्।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्न सक्ने बताए।
मधेसी मोर्चाका लागि सरकार मुख्य कुरा नभई मधेसको मुद्दा, आन्दोलन र मधेसी जनताको पीडा मुख्य कुरा रहेको उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका नेता मणि थापाले भने नयाँ सरकारले मधेसी, महिला, आदिवासी, जनजातिको माग सम्बोधन गर्ने तथा शान्ति प्रक्रियाको अझै पूरा भई नसकेकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताए।
उनले भूकम्पपीडितलाई पुनःस्थापना र देशमा सरकार छ भनेर जनतालाई अपनत्व बोध गराउने पनि जिकिर गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाली कांग्रेसले मधेसी जनताको माग सम्बोधन गर्न संविधान संशोधनमा अधिकतम सन्तुष्टि दिने, मधेसी नेता तथा कार्यकर्तामाथिको झुठा मुद्दा खारेजी तथा घाइतेको उपचार गरिने आश्वासन दिए। समानुपातिक र समावेशीजस्ता मुद्दामा तीन चरणमा वर्गीकरण गरी मधेसी नेतासँग छलफल गरी टुङ्गो लगाउने समेत उनको भनाइ छ।
एमाले नेता प्रदीप ज्ञवालीले कुनै पनि हालतमा प्रचण्ड नेतृत्वको सरकारमा एमाले नजाने बताए। एमालेले भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेको र १८ महिनाभित्र स्थानीय र प्रदेशको निर्वाचन हुनुपर्ने उनको भनाइ छ।