- कल्पना पौडेल -
अस्पतालले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको सहयोगमा करिब सवा दुई करोड रुपैयाँको लगानीमा ल्याब सञ्चालन गरेको हो। नेपालमै पहिलो पटक सबै किसिमका वंशाणुगत रोग र डिअक्सिराइबो न्युक्लिक एसिड (डिएनए) पत्ता लगाउन ल्याब सञ्चालन गरिएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा गणेश गुरुङका अनुसार जेनेटिक ल्याबमा दुई विशेष प्रकारको परीक्षण हुनेछ। साइटो जेनेटिक परीक्षणमा वंशाणुगत रोगको पहिचान हुनेछ भने मलिक्युलर जेनेटिक परीक्षणमा जन्मजात हुने रोग जस्तै डाउनसिन्ड्रोम रगत रोग, क्यान्सर, सिकलसेल एनिमिया, धेरै पटक गर्भपतन हुनुका कारणबारे पनि विशेष खालका परीक्षण हुनेछन्।
उनका अनुसार पछिल्लो समय वंशाणुगत रोगको सङ्क्रमण बढ्दै गएकाले जेनेटिक ल्याब सञ्चालनमा ल्याइएको हो। उपकुलपति डा गुरुङले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल सुरु भएको र आधुनिक प्रविधि र उपकरणसहित नयाँ सेवा थप गर्दै लगिएको बताए।
अस्पतालले ल्याब सञ्चालन गर्न जेनेटिक एकाइमा कार्यरत वंशाणुगत रोग विशेषज्ञ डा नीलम ठाकुर र दुई जना ल्याब प्राविधिकलाई श्रीलङ्काबाट तालिमसमेत उपलब्ध गराएको थियो। आगामी दिनमा अन्य आवश्यक जनशक्ति तयार गर्दै जाने अस्पतालले जनाएको छ।
अबको समयमा डिएनएमात्र नभएर सबै किसिमका वंशाणुगत रोगलाई सूक्ष्म तरिकाबाट परीक्षण गरी सही उपचार पद्धति अपनाउन जेनेटिक ल्याब उपयोगी हुने उनको भनाइ छ। ल्याब सञ्चालन भएसँगै सर्ने वा नसर्ने कुन प्रकारको वंशाणुगत रोग हो भन्ने कुरा छुट्याउन सहज हुनेछ।
के हो जेनेटिक ल्याब ?
जेनेटिक ल्याब क्रोमोजोमभित्र रहेका जिनलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने ल्याब हो। यो परीक्षण भएपछि कुनै वंशाणुगत रोग छ भने सर्छ वा सर्दैन र सर्ने भए कति प्रतिशतसम्म सर्ने सम्भावना रहन्छ भन्ने कुराको पहिल्यै जानकारी पाउन सकिन्छ। कुलपति डा गुरुङका अनुसार कतिपय प्रकारका क्यान्सर पनि सर्छ वा सर्दैन भन्ने कुरा ल्याब टेस्टपछि मात्र पत्ता लाग्छ। जेनेटिक रोगका ३५ हजार प्रकार हुन्छन्। यो रोग पत्ता लागेपछि यसको उपचार वा रोकथाम गर्न सजिलो हुन्छ।
ल्याब स्थापनापछि के फाइदा हुन्छ ?
नेपालमै ल्याब सञ्चालनमा आएपछि छिटो उपचार हुने र कम खर्च भए पुग्नेछ। विदेशमा जेनेटिक परीक्षण गर्न न्यूनतम रु १२ हजार खर्चिनुपर्छ भने नेपालमा यो सेवा सुरु भएपछि त्यसको आधा शुल्क लाग्नेछ। ल्याब स्थापनासँगै परीक्षणका लागि विदेशिने करोडौँ रुपैयाँ नेपालमै रहनेछ। ल्याबबाट मानिसमा वंशाणुगत रोगको जिन छ कि छैन भनी पत्ता लागेमा समयमै सर्तक हुन र उपचार पद्धतिमा जान सकिनेछ। रोग पत्ता लागेका अवस्थामा सही सल्लाह दिन र उपचार दिन चिकित्सकलाई सजिलो हुने विश्वास लिइएको छ।
यसअघि विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रगतको माध्यमबाट डिएनए मात्र परीक्षण गर्दै आएको थियो तर वंशाणुगत रोगको सूक्ष्म परीक्षणका लागि नेपालमा कुनै ल्याब नभएका कारण भारतलगायत विभिन्न देशमा पठाइने गरिएको छ। रासस