बर्दिवास : कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीन जना किशोर अझै भेटिएका छैनन्।
गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका उनीहरु अझै नभेटिएपछि परिवार र गाउँलेमा चिन्ता छाएको छ।
भोलिपल्टको सोमबारको बोलबम मेलामा बर्दिवास–१२ को टुटेश्वर महादेव मन्दिरमा पवित्र जल चढाउने उद्देश्यले आइतबार उत्तरायणी गएका बर्दिवास–१ का १७ वर्षीय सुरज तामाङ, बर्दिवास–११ ढुङग्रेका १६ वर्षीय धनराज बलम्पाकी र गौशालाका १९ वर्षीय शिवशङ्कर ठाकुर हराइरहेका हुन्। उनीहरुसँगै बाढीमा बगेका बर्दिवास–१ का १७ वर्षीय मनोज योगीको शव भने सोमबार साँझ प्रहरीले उनीहरु तरिरहेको ठाउँबाट सात किलोमिटर तल कमलाको बगरमा भेटेको थियो।
धनुषा र सिरहा जिल्लाको साँधमा पर्ने कमलाको बाढीमा बगेर हराइरहेका तीनै जनाको खोजी सिरहा र धनुषा प्रहरीको समन्वयमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
किशोर र युवामा लहडमा यात्रा गर्ने र बाढीसँग पनि खेलाँची गर्ने बानीले बोलबम मेलाकै समयमा बर्सेनि कमला नदीको बाढीमा बगेर मृत्यु हुने र हराउने घटना हुँदै आएका छन्। यस्ता घटना बढ्न नदिन मेलाका बेला घरपरिवारले किशोर र भरखरै युवावय टेकेका सन्तानबारे चासो राख्नुपर्ने इप्रका बर्दिवासका प्रनाउ शर्मा बताउँछन्।