काठमाडौं : साझा यातायातले थप ल्याउन लागेका ३० वटा बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
काठमाडौं महानगरपालिकाको रु १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ ३० बस निर्माण भइसकेको र अबको केही दिनमा नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए।
प्रमुख पाण्डेका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप ३० ठूला बस ल्याउन लागिएको हो। साउन महिनाभरिमा ल्याउन लागिएका सबै बस आइसक्ने र भदौको पहिलो साताबाट सञ्चालनमा रहेका १६ र ल्याइने ३० बस गरी काठमाडौं उपत्यकामा साझाका ४६ बसले नागरिकलाई सेवा दिनेछन्।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपाङ्गमैत्री रहेका छन्। जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयर समेत राख्न र निकाल्न मिल्नेगरी निर्माण गरिएको छ। बस आपूर्तिको सबै जिम्मा अशोक लेल्यान्डले पाएको छ।
लामो समय बन्द रहेर २०७० वैशाखदेखि पुनः सञ्चालनमा आएको साझाले अन्य यातायातको साधनले जस्तो सर्वसाधारणसँग जथाभावी भाडा असुल नगरी विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारित शुल्क लिँदै आएको छ। फाइल फोटो