PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​महिला मैत्रीपूर्ण भलिबल : नेपालको भारतलाई हराउने लक्ष्य



पहिलोपोस्ट

​महिला मैत्रीपूर्ण भलिबल : नेपालको भारतलाई हराउने लक्ष्य

काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा हुन लागेको मैत्रीपूर्ण भलिबल खेलमा नेपाली महिला टोलीले छिमेकी मुलुक भारतीय महिला टोलीलाई पराजित गर्ने लक्ष्य राखेको छ।
 
एफआइभीबीको सहयोगमा प्राप्त भएको जरफ्लोर टाराफ्लेक्स म्याटको उद्घाटनको अवसरमा संघले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। अहिलेसम्म नेपाली महिला टोलीले कुनै पनि खेलमा भारतलाई हराउन सकेको छैन।
 
पछिल्लो दुई वर्षमा नेपाली महिला टोलीले भारतसँग खेल्न लागेको यो तेस्रो पटक हो। दुई वर्ष अघि नेपालमै भएको प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता र गत वर्ष भारतमै भएको १२ औं साग गेम्समा नेपाल भारतसँग पराजित भएको थियो।
 
नेपाली टिमका मुख्य प्रशिक्षक सुदेश कुमार रिमालले प्रतियोगिताको तयारीबाट सन्तुष्ट रहेको बताउँदै भारतलाई हराउने लक्ष्य राखेको बताए। ‘खेलाडीहरुले एक महिना निरन्तर प्रशिक्षण गरेका छन्। भारत हामीभन्दा माथिल्लो तहको टिम हो। तर जित्ने नै हाम्रो लक्ष्य हो,’ प्रशिक्षक रिमालले भने, ‘जित्न नसकेपनि भारतविरुद्ध उत्कृष्ट खेल खेल्नेछौं।’
 
१२ औं सागमा भन्दा अहिलेको टिम राम्रो रहेको र घरेलु प्रतियोगिताहरु धेरै खेले पनि पनि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले खेलाडीहरुको मनोबल बढ्ने प्रशिक्षक रिमालले थपे।
 
छोटो समय तयारी गर्नुपरेका कारण भारतजस्तो बलियो टोलीसँग खेल्नुपर्ने भएकाले नेपाली टोलीमा नयाँ खेलाडी नराखिएको पनि रिमालले स्पष्ट पारे।

‘हामीसँग नयाँ प्रतिभा पनि छन्। तर, भारतजस्तो बलियो टिमसँग खेल्नुपर्ने भएकाले नयाँलाई मौका दिन सकिएन,’ प्रशिक्षक रिमालले थपे। पुरानै खेलाडी भएपनि नेपालले भारतलाई कडा टक्कर दिने उनको विश्वास छ।
 
नेपाली टिमकी कप्तान विनिता बुढाथोकीले मैत्रीपूर्ण खेलमा भारतसँग नै खेल्न पाउनु ठुलो विषय रहेको बताइन्। ‘यसले नयाँ आउने खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने विश्वास लिएको छु,’ कप्तान विनिताले भनिन्, ‘हामीले भारतसँग खेलिरहेको छौं। भारतको टिम फर्मेसन अनुसार रणनीति बनाएर खेल्ने योजना छ। सम्भवत खेल प्रतिस्पर्धात्मक नै हुनेछ।’

यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक वैशाली फड्तरेले नेपालको निमन्त्रणा स्वीकार गरेर नेपालमा खेल्न आएको बताइन्। ‘पक्कै पनि भारत नेपालभन्दा माथिल्लो स्तरको टिम हो। तर, नेपाललाई घरेलु भूमिमा पराजित गर्न कठिन हुन्छ।’ प्रशिक्षक फड्तरेले भनिन्, ‘नेपालविरुद्धको खेल प्रतिस्पर्धात्मक नै हुने विश्वास लिएको छु।’
 
भारतीय टोलीमा १२ औं साग खेलेका खेलाडीहरुको बाहुल्यता छ। १४ सदस्यीय टोलीमा १२ औं साग खेलेका ९ खेलाडी समावेश छन्। भारतीय टिमको कप्तानी पूर्णिमा एमएसले गर्नेछिन् भने टिममा रेखा, निर्मला, श्रुती, नरमन्दा, स्मिसा, जोसेफ, कन्डोथ, प्रिति, जेरिन, जिनी र प्रियांका लगायत खेलाडी छन्।

भलिबल संघको वार्षिक कार्यक्रम अन्तर्गत यो तेस्रो कार्यक्रम हो। संघले भारतविरुद्धको खेलका लागि साउन ६ गते नै अन्तिम १२ सदस्यीय खेलाडी छनोट गरिसकेकको थियो। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा दिउँसो साढे एक बजेपछि सुरु हुनेछ।
खेलका लागि टिकटको पनि व्यवस्था गरिएको छ। साधारण प्यारफिटतर्फ २ सय तथा रेगुलर तर्फ ५ सयको टिकट व्यवस्था गरिएको संघले जनाएको छ।

नेपाली टिम

विनिता बुढाथोकी (कप्तान), मञ्जु गुरुङ (उपकप्तान), रेश्मा भण्डारी, सरस्वती चौधरी, नेविका चौधरी, अरुणा शाही, कमला पुन, कोपिला उप्रेती, उषा विष्ट, मनिषा चौधरी, कृपा अधिकारी र प्रतिभा माली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell