सुर्खेत : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्र भएको बताउँदै यसमा वाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु अत्यन्त दु:खद भएको बताएका छन्। उनले यसका सम्बन्धमा सरोकारवाला सबेले जनतामा सत्य के हो जानकारी दिनुपर्ने बताए।
सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन सक्दैन भन्दै देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणालीमा जानुपर्ने पुरानै कुरा दोहर्याए। 'यसका लागि संविधान संशोधन गर्न नयाँ शक्ति नेपालले अभियान चलाउँछ,' भट्टराईले भने।
उनले आफूमाथि अराष्ट्रवादी भन्ने आरोपको पनि खण्डन गरे। 'हामीलाई अराष्ट्रवादीको आरोप लगाउनेहरु 'नीलवर्ण स्याल' हुन्,' भट्टराईले भने।
निलो रंगमा डुबेर नीलो भएको स्यालले आफूलाई जंगलको राजा भएको बताएर अरुलाई दु:ख दिएको र पछि अरु स्याल कराउँदा नीलो स्याल पनि सँगै कराएपछि स्याल भएको पत्ता लागेको कथा उल्लेख गर्दै उनले आफूलाई मात्रै राष्ट्रवादी भएको बताउनेहरु पनि 'नीलवर्ण स्याल' भएको बताए।