
३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक अब हप्ता दिनपछि ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ। दुई हप्ताभन्दा बढी चल्ने खेलकुदको कुम्भ मेला ओलम्पिकमा विश्वभरबाट करिब ११ हजार खेलाडीले यस पटक प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आबद्ध २०७ वटै सदस्य राष्ट्रले कुनै न कुनै खेलमा भाग लिँदैछन्।
त्यसमध्ये पनि केही खेलाडीको खेल हेर्न लायक हुने अनुमान गरिएको छ।
३१ औं संस्करणका हेर्न लायक १३ खेलाडी, जसका लागि रियो ओलम्पिक नै अन्तिम हुनेछ।
माइकल फ्लेप्स, पौडी- अमेरिका

ओलम्पिक इतिहासकै सर्वाधिक सफल खेलाडी माइकल फ्लेप्सका लागि रियो ओलम्पिक अन्तिम ठूलो प्रतियोगिता बन्न सक्छ। यसपछि उनले पौडीबाट सन्यास लिने अनुमान गरिएको छ।
सन् २०१२ को लण्डन ओलम्पिकपछि नै उनले सन्यास लिएका थिए। तर ३१ वर्षे पौडीबाजले आफूले ओलम्पिककमा कमब्याक गर्ने बताएका थिए।
फ्लेप्सले अहिलेसम्म ओलम्पिकमा १८ स्वर्ण पदकसहित कुल २२ पटक जितिसकेका छन्। जुन एकै खेलाडीले जितेको सर्वाधिक ओलम्पिक पदक हो। रियोमा फ्लेप्सले सय र दुई सय मिटर बटरफ्लाई, सय मिटर फ्रिस्टायल र दुई सय मिटर इन्डिभिजुअल मिड्लेमा प्रतिस्पर्धा गर्नेछन्।
ये शिवेन, पौडी- चीन

यी युवा स्टारले १६ वर्षको उमेरमै लण्डन ओलम्पिका दुई स्वर्ण पदक जित्दै सनसनी मच्चाएकी थिइन्। उनले ४ सय मिटर इन्डिभिजुअल मिड्लेमा वर्ल्ड रेकर्ड र २ सय मिटरमा ओलम्पिक रेकर्ड कायम गरेकी थिइन्। चार वर्षपछि ओलम्पिकमा स्वर्ण रक्षा गर्ने अनुमान गरिएको शिवेनले रियो ओलम्पिक नै आफ्नो अन्तिम हुने बताइसकेकी छिन्।
ब्रायन ब्रदर्श, टेनिस- अमेरिका

३८ वर्षे अमेरिकन ट्विन्स दाजुभाइ माइक र बब डबल टेनिसका सदावहार स्टार हुन्। यी दुईले अहिलेसम्म ४३ ग्राण्ड्सलाम टेनिसको उपाधि जितिसकेका छन्। अमेरिकालाई डेविस कपको समेत उपाधि जिताएका ब्रायन ब्रदर्शले २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण जितेका थिए। २०१३ मा माइक र बब ब्रायनले रियो ओलम्पिकपछि आफ्नो चम्किलो करियर अन्त्य गर्ने घोषणा गरे पनि अहिले उनीहरुमा त्यस्तो छनक देखिँदैन।
केही समयअघि मात्र ब्रायन ब्रदर्शले अझै १/२ वर्ष करियर अगाडि बढाउने र ब्राजिलमा स्वर्ण रक्षा गर्ने बताएका छन्।
रोबर्ट स्चेइट, सेइलिङ- ब्राजिल

ब्राजिलको सबैभन्दा सफल ओलम्पियन रोबर्टले स्चेइटले सेइलिङमा अहिलेसम्म २ स्वर्ण २ रजत र १ कास्य पदक जितिसकेका छन्। ४३ वर्षे रोबर्टले रियो २०१६ नै आफ्नो अन्तिम ओलम्पिक भएको बताएका छन्।
गुनाबारा बे मा अर्को पदक थप्न सके साओ पाउलोका घरेलु खेलाडीको करियर सफल अन्त्य हुनेछ।
मानु जिनुबिली, बास्केटबल- अर्जेन्टिना

रियो २०१६ मा अर्जेन्टिनी बास्केटबलको एउटा युग समाप्त हुँदैछ, जसको एक हिस्सा बन्दैछन् जिनुबिली। ३८ वर्षे मानु जिनुबिली ओलम्पिक प्रतियोगिताबाट करियर अन्त्य गर्ने गोल्डेन जेनेरेसनका खेलाडीमध्ये एक हुन्।
सन् २००४ को एथेन्स ओलम्पिकमा उनी सहितको टीमले अर्जेन्टिनालाई स्वर्ण पदक दिलाएको थियो। जुन एनबिए एरापछि अमेरिका बाहेकका राष्ट्रले जितेको एक मात्र स्वर्ण पदक हो।
उनको उक्त योगदानको कदर गर्दै बोएनस आइरसमा बास्केटबल सुटिङ गार्ड स्टार जिनुबिलीको प्रतिमा समेत स्थापना गरिएको छ। जिनुबिलीसँगै आन्द्रेस नासिओनी, लुइस स्कोला र कार्लोस डेलपिलनो लगायत स्टारहरुको लागि रियो ओलम्पिक अन्तिम हुने अनुमान छ।
अभिनव बिन्द्रा, सुटिङ- भारत

३३ वर्षे शिख सुटरले सन् २००८ को बेइजिङ ओलम्पिकमा १० मिटर एअर राइफमा स्वर्ण जित्दै करोडौं भारतीयलाई खुसी बनाएका थिए। त्यो नै भारतले अहिलेसम्म जितेको एक मात्र स्वर्ण पदक हो।
रियो ओलम्पिककमा भारतका लागि झन्डा बोक्ने भाग्यमानी बिन्द्राले रियो ओलम्पिक नै आफ्नो लागि अन्तिम हुने बताएका छन्।
उसेन बोल्ट, एथ्लेक्ट- जमैका

जमैकन स्प्रिन्स सुपर स्टार बोल्ट रियोमा लगातार तेस्रो पटक ३ स्वर्ण पदक जित्ने अभियानमा छन्। एक सय, दुई सय मिटर तथा ४ गुणा सय मिटर रिलेमा स्वर्ण रक्षा गर्ने अभियानमा रहेका बोल्टले बेइजिङमा पहिलो पटक ३ स्वर्ण जितेका थिए भने ४ वर्षपछि लण्डनमा ३ वटै स्वर्ण जित्न सफल भएका थिए।
यदि बोल्ट यसमा सफल भएको खण्डमा ओलम्पिकको समापन समारोहमा उनको ३० औं जन्मदिनको शानदार उत्सव हुनेछ।
ओलम्पिकअगाडि चोटका कारण पूर्ण रुपमा फिट हुन संघर्ष गरिरहेका बोल्टले रियो २०१६ पछि एथ्लेटिक्सकबाट सन्यास लिने बताएका छन्।
सेरेना विलियम्स, टेनिस- अमेरिका

३४ वर्षे अमेरिकी टेनिस लेजेण्डले स्टेफी ग्राफको २२ ग्राण्ड्सलाम उपाधि बराबरी गर्दै आफ्नो करियरमा अझै कुनै कमजोरी नआएको देखाइसकेकी छिन्। सेरेना १८० हप्ता विश्व नम्वर वान वरियतामा कायम छिन् र अझै रहिरहने सम्भावना छ।
सेरेनाले दिदी भेनससँगै ओलम्पिकमा सर्वाधिक ४ स्वर्ण पदक जितेकी छिन्। रियो ओलम्पिकमा महिला एकलतर्फ स्वर्ण रक्षा गर्ने अभियानमा रहेकी सेरेनाको लागि यो नै अन्तिम ओलम्पिक प्रतियोगिता हुने बताइएको छ।
सर ब्राड्ली विगिन्स, साइक्लिङ- बेलायत

३५ वर्षे ब्रिटिस साइकलिष्टले ओलम्पिकमा ४ स्वर्ण, १ रजत र २ कास्य पदक जितिसकेका छन्। यदि ब्राजिलमा आठौं पदक जितेमा विगिन्स ब्रिटिसको सर्वकालीन महान् ओलम्पियन बन्नेछन्। उनी यसअघि नै टुर डे फ्रान्सको उपाधि जित्ने पहिलो ब्रिटिस बनेका थिए।
तमिका क्याथचिन्स, बास्केटबल- अमेरिका

३७ वर्षे तमिका पछिल्लो ३ स्वर्ण पदक जित्दा अमेरिकी महिला बास्केटबल टोलीको सदस्य थिइन्। रियोमा चौथो स्वर्ण जित्ने अभियानमा रहेका डब्लुएनबिएस्टारले यसपछि सन्यास लिने योजना बनाएको बताएकी थिइन्।
जो पाभे, एथ्लेक्ट- ग्रेट ब्रिटेन

४२ वर्षे ब्रिटिस खेलाडी जो पाभेले रियो २०१६ मा प्रतिस्पर्धा गरेसँगै टीम ग्रेट ब्रिटिनका लागि ५ ओलम्पिकमा सहभागिता जनाउने पहिलो महिला खेलाडी बन्नेछिन्। सन् २०१४ मा ज्युरिचमा भएको युरोपियन च्याम्पियनसिपमा १० हजार मिटर तर्फ स्वर्ण जितेकी जो युरोपियन च्याम्पियनसिपको इतिहासमा स्वर्ण जित्ने पाका महिला खेलाडी बनेकी थिइन्। उनले दोस्रो बच्चा जन्माएको १० महिनापछि नै उक्त सफलता हात पारेकी थिइन्।
उक्त लयलाई ब्राजिलमा पनि कायम राख्ने उनको चाहना छ। छातीको समस्याका कारण पाभेले नेसनल ट्रायलमा अटोमेटिक क्वालिफिकेसनको मौका गुमाए पनि टीम लिडर नेइल ब्लाकले ८० सदस्यीय टोलीमा पाभेलाई स्थान दिलाएकी हुन्।
फेडेरिका पेलेग्रिनी, पौडी- इटली

२७ वर्षे इटालियन स्विमरले रियो ओलम्पिकपछि आफ्नो परिवारलाई ध्यान दिन भन्दै स्विमिङ पुलबाट टाढिले बताएकी छिन्। चौथो पटक ओलम्पिकमा भाग लिन लागेकी पेलेग्रिनीले सन् २००८ को बेइजिङ ओलम्पिकमा २ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी थिइन्। इटलीबाट ओलम्पिकमा स्वर्ण जित्ने उनी पहिलो महिला समेत बनेकी थिइन्।
लिन डान, ब्याड्मिन्टन- चीन

'सुपर डान'को नामले परिचित चिनियाँ खेलाडी लिन डानलाई सर्वकालीन बेस्ट सिंगल ब्याड्मिन्टन खेलाडीको रुपमा लिइन्छ।
सन् २००८ को बेइजिङ ओलम्पिककमा पहिलो स्वर्ण जितेका डान ४ वर्षपछि स्वर्ण पदक रक्षा गर्ने पहिलो ब्याड्मिन्टन खेलाडी बने। स्वर्ण रक्षा गर्ने क्रममा डानले लण्डनमा भएको एपिक फाइनलमा मलेसियाका लि चोङ वेइलाई पराजित गरेका थिए।
रियो ओलम्पिकपछि डानले सन्यास लिने हल्ला रहे पनि ३२ वर्षे स्टार रियोमा लगातार तेस्रो पटक ओलम्पिकमा स्वर्ण जित्ने अभियानमा छन्। एजेन्सीको सहयोगमा