काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखान-टुक्काका 'खानी' भन्नेहरु धेरै छन्। भाषणमा प्रयोग गर्ने रोचक उखानकै कारण उनको छुटै शैली स्थापित छ। त्यसो त उनी त्यही उखान-टुक्काबाटै विरोधीहरुलाई मुटुसम्मै तीर चलाउन पनि बाँकी राख्दैनन्।
राजनीतिमा लागेपछि ओलीले जेल जीवन पनि पटक-पटक भोगिसकेका छन्। जेलमा छँदा लेखपढ गर्ने सुविधासँगै उनी कविता पनि लेख्ने गर्थे।
२०४१ सालमा उनले लेखेको एउटा कविता भरखरै सार्वजनिक भएको छ। पोखरा बन्दीगृहमा रहँदा २०४१ सालमा लेखिएको खर्पन शीर्षकको कवितालाई सामाजिक सञ्जालमार्फत उनकै प्रेस सल्लाहकार प्रमोद दाहालले आज सार्वजनिक गरे।
बितको थोत्रो मैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हरदिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा-
यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई।
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ।
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो।
मेरो जीवनको दियो जलाउने बाती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरुसँगको मेरो 'जी हजुर' 'तँ तँ' 'म म' सबै सम्बन्धहरु हो खर्पन
मेरो घर, मेरो घाट-मेरो बजार, मेरो हाट, जे भने पनि हुन्छ खर्पन।
