
काठमाडौं : धनकुटामा आज भएको बस दुर्घटनामा ८ जना यात्रुको ज्यान गएको छ।
संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना भएको हो। दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ८ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले पूर्व मन्त्रीको मृत्युको पुष्टि गरे। डाक्टर बाबुराम भट्टराईको मन्त्रिमण्डलमा खेवा अर्थ राज्यमन्त्री थिए।
मृत्यु हुने अन्यमा परेवादिन-७ की तारादेवी बस्नेत, रेश्मा बस्नेत, धरान-२ का बेदप्रसाद अग्रवाल, अतिमाया तामाङ, खिममाया भट्टराई लगायत रहेका छन्।
घाइते २८ जनालाई थप उपचारका लागि धरान पठाइएको छ। दुई जनाको धनकुटा अस्पतालमा उपचार हुँदैछ। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मध्याह्न साढे १२ बजे भएको सो दुर्घटनामा गाडी सडकबाट अनियन्त्रित भई पल्टिएको थियो।
यसअघि प्रारम्भिक सूचनामा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो।
फोटो सौजन्य : सुन्दरमान डंगोल