PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

१२औं साग गेम्समा पदक जित्ने खेलाडीलाई सरकारद्वारा नगदसहित सम्मान



पहिलोपोस्ट

१२औं साग गेम्समा पदक जित्ने खेलाडीलाई सरकारद्वारा नगदसहित सम्मान

काठमाडौं : १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडी, प्रशिक्षक र खेल संघलाई सरकारले नगदसहित सम्मान गरेको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण, रजत र कास्य जित्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन्।
 
गत फ्रेब्रुअरी ५ देखि १६ सम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ कास्यसहित ६० पदक जितेको थियो।

उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ संघलाई पुरस्कृत गरिएको हो ।

सोअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका निमा घर्ती मगर, फुपुल्हामु खत्री र नेपाली फुटबल टोलीले जनही पाँच लाख पाए। त्यसैगरी फुटबल टोलीका २० खेलाडीलाई भने जनही नगद दुई लाख प्रदान गरियो। उनीहरुलाई पनि पाँच लाख प्रदान गरिने निर्णय गरिएको भए पनि प्राविधिक कारणले दुई लाख मात्र प्रदान गर्न सकिएको बताइएको छ।

त्यसैगरी व्यक्तिगत स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले तीन लाख र कास्य जित्नेले जनही दुई लाख हात पारे। साथै टिम इभेट्समा रजत जित्नेले एक लाख ५० हजार तथा काँस्य जित्नेले एक लाख हात पारे।

विभिन्न खेलका ५१ प्रशिक्षकले ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद संघले दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए।
 
पदक विजेता खेलाडीहरुलाई सम्मान गरेपछि प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताए।
 
लिगलिगकोटमा दौडिएर जित्ने मात्र राजा हुने परम्पराको दृष्टान्त दिँदै उनले यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको चर्चा गर्दै भने, 'दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्ण पदक भने तपाईंहरुले जित्नुपर्छ।'
 
ओलीले नेपाली खेलकुद क्षेत्रले केही सुःखद सफलता हासिल गरेको भए पनि त्यसैमा चित्त बुझाएर नबस्न खेलाडीलाई आग्रह गरे। 'यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ,' उनको भनाइ थियो। आफू जुनसुकै पदमा रहे पनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell