PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नयाँ सरकारका लागि साझा कार्यक्रम बनाउन कार्यदलको पहिलो बैठक, प्रचण्ड प्रधानमन्त्री पक्का



रमेश वाग्ले

नयाँ सरकारका लागि साझा कार्यक्रम बनाउन कार्यदलको पहिलो बैठक, प्रचण्ड प्रधानमन्त्री पक्का

काठमाडौं : एमाले-माओवादी गठबन्धन भत्किएर बन्न लागेको कांग्रेस-माओवादी गठबन्धनले सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएका छन्। कार्यदलको पहिलो बैठक आजै साँझ बस्ने तयारी छ।
 
कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिको नेतृत्वमा कृष्णप्रसाद सिटौला र डा. रामशरण महत सदस्य छन् भने माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा देव गुरुङ र गिरिराजमणि पोखरेल सदस्य छन्। दुवै दलका तर्फबाट कार्यदलमा बस्ने सदस्यहरुको टुंगो लागे पनि आजसम्म बैठक भने बसेको थिएन।
 
'समितिको एउटा पनि बैठक नबसेकाले यस्तो कार्यदलले के गर्ने भनेर अहिले भनिहाल्न मिल्दैन,' कार्यदलका सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने, 'पहिला पहिलो बैठक बसोस् अनिमात्र केके गर्छ, कहिलेसम्म गर्छ भनेर भन्न सकिन्छ।'
 
संयुक्त सरकार निर्माण हुनुअघि गठबन्धनमा विश्वासको वातावरण बनाउन तथा सरकार सञ्चालनका लागि विधि स्थापित गर्न संयुक्त कार्दलबाट न्युनतम साझा कार्यक्रम बनाउने अभ्यास छ। गठबन्धनका दलहरु सत्ता साझेदारीमा नजिक देखिए पनि नीतिगत हिसाबले फरक सोच राख्ने दलहरु छन्। त्यसबाहेक साना दल र मधेसी दलहरु पनि सहभागी हुने सरकार भएकाले विधिमा बाँधिनका लागि न्युनतम साझा कार्यक्रम (सिएमपी) बनाउनु आवश्यक छ।
 

प्रचण्ड ढुक्क हुने अवस्थामा

कांग्रेस र माओवादीबीच सरकार परिवर्तन गरेर नयाँ सरकार गठन गर्नेगरी सहमति भएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार कामचलाउ अवस्थामा पुगेको छ। तर, नेकपा माओवादी केन्द्रका धेरै नेता भने प्रचण्ड प्रधानमन्त्री बन्ने अझै पक्का नभएको बताउँदै आएका थिए। सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल बनेपछि भने केही प्रचण्डको पक्षमा वातावरण बन्ने देखिएको छ।
 
'अब नीति तथा कार्यक्रम निर्माणमा लागेपछि गठबन्धनको उम्मेद्वार बन्नेमा ढुक्क भएका छौं,' एक माओवादी नेताले भने, 'कांग्रेससँगको गठबन्धनलाई पनि बलियो ढंगले अघि बढाउँदै देशलाई निकास दिने दायित्व हाम्रो सामु आएको छ।' एमाले जिम्मेवार प्रतिपक्ष बनेमा संविधानको कार्यान्वयनमा पनि कुनै समस्या नरहने समेत ती नेताले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell