
काठमाडौं : …र, यसपटकको फोटो अफ दि इयरको अवार्ड जित्नुभएको छ- दीपकरत्न बज्राचार्यले।
राष्ट्रिय नाचघरको मिनी हलमा कसैको ताली बजेन। अघिपछि अरु विधामा अवार्ड जित्नेको नाम घोषणा गर्दा हलै थर्काउने गरी चिच्याएको सुनिए पनि यति बेला कसैले चियर गरेन।
पर्दामा भूकम्पको त्रास झल्काउने गरी स्वयम्भूमा भत्कँदै गरेका घर र आत्तिँदै गरेका मानिसहरु भएको फोटो प्रोजेक्टरबाट देखाइसकिएको थियो।
यसपटकको फोटो अफ दि इयरको अवार्ड जित्ने फोटो घोषणा गर्दा पनि हल किन चलायमान भएन? आखिर को थिए त विजेता दीपकरत्न बज्राचार्य!
फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगितामा एक लाख रुपैयाँ नगदसहितको फोटो अफ दि इयरको अवार्ड जित्ने उनी कुनै फोटो पत्रकार होइनन्, न त व्यावसायिक फोटोग्राफर।
संकटा मन्दिरका पुजारी रहेका बज्राचार्यले वैशाख १२ को भूकम्पमा खिचेका थिए, यो फोटो।
विश्वभरका फोटो पत्रकारहरुका लागि अस्कर अवार्डसरह मानिने वर्ल्ड प्रेस फोटोका जजसमेत रहिसकेका प्रकाश पन्जियारले उनको फोटोको प्रशंसा गरे। उनले यस्ता फोटो त्यो प्रतियोगितामा नदेखिएको पनि बताए।
वैशाख १२ को त्यो फोटो
वैशाख १२ गते बज्राचार्य स्वयम्भूमा थिए। त्यही बेला भूकम्प आयो। कता जाने, के गर्ने? सुरुमा त उनी अलमलिएका थिए।मान्छेहरुको कोलाहल मच्चिन थाल्यो। रुवाबासी चल्यो। त्यही बेला फोटो खिच्ने सोच पलायो उनमा। 'भुइचाँलो गएको टाइममा म यता आएँ, गाह्रै भएको थियो,' उनी भन्छन्, 'मान्छे आत्तिइरहेका थिए, मैले त्यही बेला फोटो खिचेँ।'
घर र भवनहरु भत्किएपछि बुङबुङ्ती धुलो उड्न थाल्यो। उनले त्यही बेला खिचेको फोटोमा पनि भूकम्पले घर भत्किँदै गरेको देख्न सकिन्छ। जहाँ धुलो उडिरहेको छ र ढुंगामाटो खसिरहेका छन्।
'मैले क्यानन सेभेन डी क्यामेराले खिचेको थिएँ यो फोटो,' उनी फोटो खिच्दाको क्षण सम्झिन्छन्, 'कन्डिसन यस्तो थियो कि सबै घरहरु भत्किइरहेका थिए, हल्लिइरहेका थिए। त्यसले गर्दा पनि फोटोमा ब्लर जस्तो देखिन्छ।'
बज्राचार्य कुनै प्रोफेसन फोटोग्राफर होइनन्। फोटोग्राफी त उनको रुचिको विषय। प्रतियोगिताका लागि उनले टुरिज्म र नेपाल स्माइलका लागि पनि फोटो पठाएका रहेछन्।
'मैले पनि भर्खरै थाहा पाएँ। एकदमै खुसी छु,' टेवहाल बस्ने संकटाका यी पुजारीले हामीसँग खुसी साटे।