
- सरिता पौडेल
फिल्मका निर्माता भट्टराई र निर्देशक शर्मासँगै वितरक नरेन्द्र महर्जन शुक्रबार चितवनमा भेटिए। ब्रासलेट लेखिएको टिसर्ट लगाएरै पत्रकारमाझ भलाकुसारीमा जुटेका उनीहरु खासमा फिल्मको पब्लिसिटी गर्नचाहिँ आएका होइनन् रे। रमाइलो गर्दै निर्देशक शर्माले भने, ‘हामी पब्लिसिटी गर्न आएका हैनौं। अहिले देशैभर फिल्मको माग कतिको छ, मिडियाहरुमा गीतसंगीत, ट्रेलरले कस्तो स्थान पाएका रैछन त्यो हेर्न आएका हौं।’
ब्यापक पब्लिसिटिका लागि फेरि देश दौडाहामा निस्कने बताउँदै उनले यसलाई सेमी प्रमोशनचाहिँभन्न मिल्ने बताए।

फिल्मको प्रमोशन गर्न नहिँडेको बताए पनि सञ्चारकर्मीमाझ ब्रासलेटको चर्चा गर्न भने उनीहरुले छुटाएनन्। शर्माले थपे, 'तपाईंहरुको मिडियाले पनि स्थान दिइरहेको छ भन्ने आशा गरेको छु।’
फिल्मका निर्माता भट्टराईले फिल्म राम्रो बनाउने कोसिस गरेको बताए। अहिलेसम्मको सबै अनुभव र ज्ञान ब्रासलेटमा प्रयोग गरिएको उनको भनाइ छ। नारी कथामा केन्द्रित फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको उनले बताए। फिल्म नारीहरुकै महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै भदौ १७ गते रिलिज हुँदैछ।
फिल्ममा रमेश उप्रेती मुख्य भूमिकामा छन्। उनीसँगै रजनी केसी, सुगम गुरागाई, ऋतिक शाही, नीर शाह लगायतको अभिनय छ। फिल्मले ब्रासलेटको शक्ति र परिभाषालाई प्रस्ट्याउन खोजको छ।
निर्माता-निर्देशक सहितको यो टिमले बिहीबार हेटौंडामा पनि पत्रकारहरुसँग भेटघाट गरेका थिए। त्यस्तै बुटवल र पोखराका पत्रकारमाझ पनि भेटघाट गर्ने उनीहरुको योजना छ।