PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

पत्नीको हत्या गरी खेतमा गाड्ने पति पक्राउ



पहिलोपोस्ट

वीरगन्ज : पत्नीको हत्या गरी फरार भएका एक पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
 
पत्नीको हत्या गरी खेतमा गाडेर फरार भएका भेडिहारी–९ गदियानी निवासी परमा मण्डललाई प्रहरीले पक्राउ गरेको हो। मण्डलले बिहीबार राति आफ्नी २० वर्षिया पत्नी रमावती देवीको घाँटी थिचेर हत्या गरेका थिए। हत्या गरी घर नजिकको धानखेतमा गाडेर उनी फरार भएका थिए।
 
रमावतीको माइती पक्ष शुक्रबार बिहान घरमा पुग्दा रमावती र पति मण्डल नभेटिएपछि घटनाको रहस्य खुलेको थियो। मण्डलको घरका सबै पुरुष सदस्य फरार भएको पाएपछि ठूलै घटना भएको रमावतीका माइती पक्षले अनुमान गरेका थिए। फरार मण्डललाई उनकै ससुराली पक्षले भारतको सेनवरियाबाट पक्राउ गरी शुक्रवार साँझ ४ बजे इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएका थिए।
 
उनी मामाघरमा लुकेर बसेको अवस्थामा फेला परेका थिए। पक्राउ मण्डलको बयानको आधारमा रमावती देवीको शव धानखेतबाट शुक्रबार साँझ ६ बजे प्रहरीले उत्खनन गरी बरामद गरिसकेको छ। घरदेखि दुई सय मिटर दक्षिण धानखेतमा रमावतीको शव गाडिएको अवस्थामा फेला परेको र पोस्टमार्टमको लागि नाउक्षे अस्पताल वीरगन्ज पठाइएको पर्सा प्रहरीले जनाएको छ। मण्डलका पिता र दुई जना भाइ फरार छन्।
 
रमावतीका काका बारा फेटा निवासी उमेश महतोले मण्डल अपराधी मनोवृत्तिको भएको र दैनिक मदिरासेवन गरी घरमा पत्नीलाई कुटपिट गर्दै आएको बताएका छन्। यसअघि झगडा हुँदा रमावतीका भाइहरू दिदीलाई लिन जाँदा सासूले घरेलु झगडा घरमै सल्टाउने भनी नपठाउने गरेको उनको भनाइ छ। मदिरासेवन गरी ज्वाइँले भतिजीको हत्या गरेको उनले आशंका गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell