PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

धनगढी पुगेर बाबुरामले भने, 'नेपाल-भारत सम्बन्ध पुनरावलोकनका लागि नेपालले आँट गर्नुपर्छ'



पहिलोपोस्ट

धनगढी पुगेर बाबुरामले भने, 'नेपाल-भारत सम्बन्ध पुनरावलोकनका लागि नेपालले आँट गर्नुपर्छ'

धनगढी : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने समेत बताए। 'नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ,' उनले भने, 'यसमा भारत पनि तयार रहनुपर्छ र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ।'

संयोजक भट्टराईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन नसकेको र भारतले पनि सकारात्मक भूमिका खेल्न नसकेको औंल्याए। नेपाल-भारत सीमा नजिकै भारतले बाँध बनाएको सन्दर्भमा पहिले नै अन्तर्राष्ट्रिय मान्यताका आधारमा दुवै देशबीचमा समझदारी कायम गर्नुपर्ने उनको धारणा थियो।  'एउटा देशलाई अप्ठेरो पर्ने गरी अर्को पक्षले एकपक्षीय रुपमा संरचना निर्माण गर्नु राम्रो होइन,' भट्टराइले भने।
 
एक फरक प्रसंगमा उनले प्रस्तावित ७ नम्बर प्रदेशको सीमांकनको विवादलाई पहिलो संविधानसभाको समिति र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने बताएका छन्। गत वर्ष भदौ ७ र ८ गते कैलालीमा घटेको घटनाबाट सिर्जित समस्याको तत्काल निरुपण गर्नुपर्नेमा समेत उनले जोड दिए। 'भदौ ८ मा थारु समुदायको ८२ घर जलेको रहेछ,' उनले भने, 'त्यसमा प्रशासनले राहतका लागि सिफारिस गरेको छ, त्यो चाँडै कार्यान्वयन गर्नुपर्छ।' भदौ ७ को घटना सन्दर्भमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबिन आयोग बनाएर मात्रै निरुपण गर्नु उपयुक्त हुने उनको सुझाव थियो।
 
पटक-पटकको सरकार परिवर्तनको खेलले देश राजनीतिक अस्थिरताको सिकार भएको भन्दै नेता भट्टराईले राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकासहितको शासकीय स्वरुप हुनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell