PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

किन भूकम्पका फोटोले मात्रै पुरस्कार जित्यो? कहाँ गए मधेस आन्दोलन र नाकाबन्दीका फोटो?



उमेश श्रेष्ठ

किन भूकम्पका फोटोले मात्रै पुरस्कार जित्यो? कहाँ गए मधेस आन्दोलन र नाकाबन्दीका फोटो?

काठमाडौँ : नेपालकै सर्वाधिक पुरस्कार राशी भएको फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिता २०७३ मा न्युज क्याटेगोरीमा पुरस्कार जित्ने सबै फोटो भूकम्पका हुन्। 

तेस्रो पुरस्कार बुद्धको ठूलो मूर्तिनजिकै भग्नावशेष र छेउबाट आफन्त गुमाएकी एक महिलालाई सान्त्वना दिँदै अरु महिलाले लाँदै गरेको लक्ष्मीप्रसाद ङाखुसीले खिचेको फोटोले जित्यो। दोस्रो पुरस्कार राजेश गुरुङले वैशाख १२ को भूकम्पपछि खोकनाबाट धुलो र धुँवा उड्दै गर्दा खिचेको फोटोले जित्यो। पहिलो पुरस्कार जित्ने नभेष चित्रकारको फोटोमा धरहराको भग्नावशेषमा पुरिएका एक व्यक्तिको कम्मरमुनिको भाग देखिन्छ जसको एउटा खुट्टामा जुत्ता छ, अर्कोमा छैन। यतिमात्र हैन, फोटो अफ दि इयर पनि दीपेन्द्ररत्न बज्राचार्यको भूकम्पकै फोटोले जित्यो। 

भूकम्पकै कारण पोहोर अर्थात् विक्रम संवत् २०७२ सालमा यो प्रतियोगिता आयोजना हुन सकेन। त्यसैले न्युज क्याटेगोरीका लागि २०७१ देखि २०७२ मा खिचिएका फोटो सबमिट गर्न पाइने नियम आयोजकले बनाएको थियो। यही वर्ष संविधान घोषणादेखि मधेस आन्दोलन र भारतीय नाकाबन्दी लगायतका प्रमुख घटना पनि भए। तर पुरस्कार भने भूकम्पकै फोटोले मात्र जित्यो। किन?

विश्वकै प्रतिष्ठित वर्ल्ड प्रेस फोटोमा निर्णायक रहिसकेका यस प्रतियोगिताका मुख्य निर्णायक भारतीय फोटोग्राफर प्रशान्त पन्जियारका अनुसार यो प्रश्न तपाईँहामीको मनमा मात्र हैन, निर्णायकहरुको मनमा पनि उब्जिएको थियो। 'हामी निर्णायकहरु बीच पनि यसबारे बहस भएको थियो', अवार्ड घोषणा समारोहपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा पन्जियारले भने, 'कतै हामीले अरु घटनालाई इग्नोर त गरिरहेका छैनौँ भनेर हामीले छलफल गरेका थियौँ।'

'तर अन्तिममा हामीले आएका फोटो मध्ये उत्कृष्ट तीन फोटोलाई नै पुरस्कृत गर्ने निर्णय गर्‍यौँ', उनले प्रष्ट्याए। 

त्यसो भए वर्ल्ड प्रेस फोटोमा चाहिँ कुनै नेपाली फोटोग्राफरले पठाएका फोटो किन छानिएन त? स्वभाविक रुपमा प्रश्न उठ्छ नै।
 
'हेर्नुस्, दरबारमार्गमा कुनै विस्फोट भयो भने यही घटनाको फोटोले अरु घटनाहरुलाई छायाँमा पारिदिन्छ', उनले कारण दिए, 'त्यसैगरी तपाईँहरुलाई याद होला गएको वर्ष युरोपमा शरणार्थी मुद्दा निकै चर्को रुपमा उठ्यो। शायद् युरोपेली संस्थाको आयोजनामा हुने फोटो प्रतियोगितामा त्यही विषयले नेपालको भूकम्पलाई छायाँमा पारिदियो।'

तर फोटो अफ दि इयर घोषित दीपेन्द्ररत्न बज्राचार्यको जस्तो पावरफूल फोटो आफूले त्यो प्रतियोगितामा आएको नदेखिएको पनि बताए। 'यस्ता फोटो त्यहाँ देखिएनन्', उनले भने।

यसको एउटा कारण वर्ल्ड प्रेस फोटो प्रतियोगितामा सहभागी हुन पत्रकार हुनै पर्ने बाध्यता पनि हुनसक्ने उनको विचार थियो। फोटो अफ दि इयर खिच्ने बज्राचार्य व्यवसायिक फोटो पत्रकार हैनन्। उनको फोटोले एक लाख रुपैयाँ नगदसहितको अवार्ड घोषणा हुँदा त्यहाँ उपस्थित धेरैले उनलाई नचिनेको प्रतिक्रिया दिएका थिए। 

मधेस आन्दोलनलाई फोटो प्रतियोगिताले नसमेटेको भने हैन। फोटो स्टोरी विधा अन्तर्गत सागर क्षेत्रीले खिचेको दोस्रो पुरस्कार पाएका फोटोहरु आन्दोलनसँगै सम्बन्धित छन्।  
  
वर्ल्ड प्रेस फोटोमा एक विदेशी (ड्यानियर बेरहुलक) ले नेपाल आएर खिचेको भूकम्पको फोटोले जनरल न्युज क्याटेगोरी अन्तर्गत स्टोरिजमा तेस्रो पुरस्कार जितेको थियो। किन यस्तो भयो त? अन्तर्क्रियामा सहभागी नेपाली फोटो पत्रकारले प्रश्न उठाए। 

'विदेशीले पुरस्कार जित्यो भनेर आलोचना गर्नुभन्दा फोटो हेरेर सिक्नुस्,' उनको सुझाव थियो। एन अर्थक्वेक्स आफ्टरम्याथ शीर्षकको त्यो फोटो स्टोरी निकै राम्रोसँग सम्पादन गरिएको र स्टोरीका रुपमा राम्रोसँग न्यारेट गरिएको उनले बताए। 

ड्यानियललाई न्युयोर्क टाइम्सले यी फोटो खिच्न भनेको थियो। 

उनले फोटो स्टोरीका लागि सुझाव पनि दिए, लेस इज मोर। अर्थात् थोरैले धेरै भन्ने हुनुपर्छ। 'म एउटै अवस्था देखाउने फोटोहरु दोहोरिरहेका इन्ट्री देख्छु', उनले भने, 'यसले काम गर्दैन। गो न्यारेटिभ।' 

ड्यानियलका आठ फोटोहरुमा भग्नावशेषमा चलिरहेको जीवन, भग्नावशेषबाट निकालिएको लाश, हेलिकप्टरको उद्दार, राहतको पर्खाइ, भग्नावशेषलाई वृहत् रुपमा देखाउने फोटो, शोकग्रस्त मानिस र अन्तिममा पशुपतिमा लाश जलाउँदै गरेको फोटो रहेका छन्। 

उनले सहभागीहरुलाई गुरुमन्त्र पनि दिए,  ह्वाट वि शो (हामी के देखाउँछौँ) मात्र होइन, हाउ वि शो (हामी कसरी देखाउँछौँ) पनि महत्त्वपूर्ण हुन्छ। 'हामी कसरी देखाउँछौँको अर्थ हो, हामी कसरी फोटो खिच्छौँ', उनले प्रष्ट्याए। 

के नेपाली फोटो पत्रकारहरुको फोटो देखाउने शैलिमा परिवर्तन भएर वर्ल्ड प्रेस फोटोको कुनै विधाको अवार्ड नेपाल भित्रिएला त? जवाफ आगामी वर्षहरुले देखाउने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell