
तीन दिनअघि मात्र अर्जेन्टिनाका गोन्जालो हिगुएन विश्वकै तेस्रो महँगो फुटबलर बनेका थिए। नेपोलीबाट ७६ मिलियन पाउण्डमा इटलीकै अर्को क्लब युभेन्ट्स गएसँगै महँगो खेलाडीको सूचीमा हिगुएनले लुइस सुवारेजलाई पछि पारेका थिए।
यसअघि ट्रान्सफर विन्डोमा गारेथ बेल सर्वाधिक महँगा खेलाडी थिए भने क्रिस्टियानो रोनाल्डोको सूचीको दोस्रो स्थानमा थिए।
तर अब बेल दोस्रो स्थानमा झर्ने भएका छन् भने कुनै बेला विशवकै मँहगा खेलाडी बनेका रोनाल्डो तेस्रो स्थानमा झर्दैछन्। कारण, फ्रेन्च स्टार पउल पोग्वा चार वर्षपछि इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा फर्कने पक्का भइसकेको छ र उनी विश्वकै महँगो खेलाडी बनेर ओल्ड ट्राफोर्ड फर्कंदैछन्। पोग्वा सन् २०१२ मा युनाइटेडबाटै इटालियन क्लब युभेन्ट्स लागेका थिए।
म्यानचेष्टर युनाइटेडले पोग्वालाई कीर्तिमानी सय मिलियन पाउण्डमा भित्र्याउन लागेको हो। योसँगै पोग्वा विश्वकै सर्वाधिक महाँगो खेलाडी त बन्नेछन् नै ट्रान्सफरमा सय मिलियन पाउण्डमा कारोबार हुने पहिलो खेलाडी समेत बन्नेछन्।
पोग्वालाई म्यानचेष्टरले किनेसँगै उनी विश्वकै महँगो खेलाडी बन्ने पक्का छ। उनीसँगै अरु कोको छन् त विश्वका १० महँगा खेलाडी :
१. पउल पोग्वा (१०० मिलियन पाउण्ड)
पोग्वा कीर्तिमानी मुल्यमा युभेन्ट्सबाट म्यानचेष्टर युनाइटेड जाँदैछन्। अब उनको स्वास्थ्य परीक्षण भने हुन बाँकी छ। उनको लागि भनेर युनाइटेडका नयाँ व्यवस्थापक जोसे माउरिन्होले ६ नम्बरको जर्सी समेत छुट्याइसकेका छन्।
२. गारेथ बेल (८६ मिलियन पाउण्ड)
वेल्सका गारेथ बेल सन् २०१३ मा कीर्तिमानी ८६ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए।
३. क्रिस्टियानो रोनाल्डो (८१ मिलियन पाउण्ड)
बेलअघि क्रिस्टियानो रोनालडो विश्वकै महँगो खेलाडी थिए। रोनाल्डो सन् २००९ मा कीर्तिमानी मूल्यमै म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका थिए। पछि उनलाई बेलले पछि पारे।
४. गोन्जालो हिगुएन (७६ मिलियन पाउण्ड)
तीन दिनअघि मात्रै गोन्जालो हिगुएन ७६ मिलियन पाउण्डमा इटालियन कलब नेपोलीबाट युभेन्ट्स लागेका थिए। जुन एकै देशको लिगमा क्लबले खर्चेको अहिलेसम्मकै सर्वाधिक रकम हो।
५. लुइस सुवारेज (७५ मिलियन पाउण्ड)
लुइस सुवारेज सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट ७५ मिलियन पाउण्डमा स्पेनी कलब बार्सिलोना पुगेका थिए।
६. नेमार (७१ मिलियन पाउण्ड)
सुवारेज बार्सिलोना आउनुअघि नेमार स्टालाना क्लबका सर्वाधिक महँगा खेलाडी थिए। सन् २०१३ मा नेमार ब्राजिल क्लब सान्तोसबाट ७१ मिलियन पाउण्डमा बार्सिलोना गएका हुन्।
७. जेम्स रोड्रिग्वेज (६३ मिलियन पाउण्ड)
जेम्स रोड्रिग्वेज सन् २०१४ मा फ्रेन्च क्लब मोनाकोबाट ६३ मिलियन पाउण्डमा रियल मड्रिड गएका थिए।
८. एन्जल डिमारिया (६० मिलियन पाउण्ड)
एन्जल डिमारिया सन् २०१४ मा रियल मड्रिडबाट ६० मिलियन पाउण्डमा म्यानचेष्टर युनाइटेड गएका थिए।
९. काका (५६ मिलियन पाउण्ड)
सन् २००९ मा काका इटालियन क्लब एसी मिलानबाट ५६ मिलियन पाउण्डमा रियल मड्रिड गएका थिए।
१०. केभिन डे ब्रुएन (५५ मिलियन पाउण्ड)
केभिन डे ब्रुएन सन् २०१५ मा जर्मन क्लब ओल्फसवर्गबाट ५५ मिलियन पाउण्डमा इंग्लिस क्लब म्यानचेष्टर सिटी लागेका थिए।