PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

न्यायाधीश थपिने भएपछि इजलास र कार्यकक्ष म्यानेज गर्दै सर्वोच्च प्रशासन



पहिलोपोस्ट

न्यायाधीश थपिने भएपछि इजलास र कार्यकक्ष म्यानेज गर्दै सर्वोच्च प्रशासन

काठमाडौँ : सर्वोच्च अदालतमा ११ जना न्यायाधीश नियुक्तिका लागि अनुमोदन भएपछि सर्वोच्च प्रशासन आवश्यक स्थानहरुको व्यवस्थापनमा जुटेको छ।

नयाँ संविधानको व्यवस्था अनुसार थप ११ जना न्यायाधीश एकसाथ सर्वोच्च भित्रने भएपछि भूकम्पका कारण क्षत विक्षत बनेको सर्वोच्च अदालतको मूल भवनको निर्माण कार्य जारी रहेको छ।

पहिलोपोस्टसितको कुराकानीमा सर्वोच्च अदालतका सहायक रजिष्टार समेत रहेका प्रवक्ता नहकुल सुवेदीले इजलास र कार्यकक्ष लगायतका स्थान व्यवस्थापन भइरहेको बताए।

'हामीले म्यानेज गर्छौँ', उनले भने, 'हामीसँग १२ वटा इजलास सञ्चालन गरेको इतिहास छ।

उनले मूल भवनमा पहिला १० वटा व्यवस्थित र थप एक इजलास रहेको र अहिले रेट्रो फिटिङ सकिए लगत्तै थप ३ वटा इजलासको व्यवस्था गर्न लागिएको बताए।

उनले भूकम्प पछि इजलास सञ्चालन भइरहेको एनेक्स बिल्डिङमा पनि पाँच इजलास रहेको बताए। 'गाह्रो साँघुरो हामी म्यानेज गर्छौँ', सुवेदीले भने, 'म्यानेज गर्ने काम भइरहेको छ।'

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ११ जना न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेपछि अब सर्वोच्चमा न्यायाधीश संख्या २० पुगेको छ। उनीहरुको नियुक्ति र सपथ ग्रहण बाँकी रहेको छ।

नेपालको संविधानको धारा १ सय २९ मा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था रहेको छ। संविधान अनुसार सर्वोच्चमा अब थप एक जना न्यायाधीशको पद खाली रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell