PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

औषधी बनाउने कम्पनी नै लागू औषधको कारोबारमा. फन्दामा परे संघाई ग्रुपका हस्ती



सविन ढकाल

काठमाडौं : मानव स्वास्थ्यका लागि आवश्यक औषधि उत्पादन गर्ने नेपाल सरकारबाट स्विकृति लिएको औषधि कम्पनीले नै लागुऔषधका लागि अवैध कच्चा पदार्थ उत्पादन गर्ने गरेको तथ्य बाहिर आएको छ।
 
बाराको गढिमाई-७ जितपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडले लागुऔषधको लागि आवश्यक सिउडोइफेड्रिन नामक औषधि उत्पादन गरेको देखिएको हो।
 
शनिबार लागुऔषध ब्युरोबाट खटिएको टोलीले व्यवसायी रतनलाल संघाई लगायत अन्य चार जनालाई बढी सोही कारोबारलाई कारण बनाई पक्राउ गरेको छ।

पक्राउ परेका अरुमा दीलिप पण्डित, श्याम तामाङ मोक्तान, बद्री वन, मोहित हलन छन्। आर्य फर्मा ल्याब सञ्चालक रतनलालका भाइ पवनकुमार संघाई र शंकर हलन भने फरार छन्। हलनका छोरा मोहित केही दिनअघि पर्साबाट पक्राउ परेका थिए। लागुऔषध बनाउन प्रयोग हुने २० केजी कच्चा पदार्थसहित उनी पक्राउ परेका हुन्।

 
प्रहरीले ललितपुर उपमहानगरपालिका-६ पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लास्टिक उद्योगबाट ३९ वटा कार्टुनमा रहेको ९ सय ५२ वटा डिब्बाभित्र रहेको ४ सय ७१ किलोग्राम सिउडोइफेड्रिन बरामद गरिसकेको छ।
 
 

यसरी फस्यो आर्य फर्मा


लागुऔषध नियन्त्रण ब्युरोको करिब चार महिनाको 'स्युडो अपरेसन'बाट आर्य फर्माको धन्दालाई बाहिर ल्याउन सफल भएको हो।
 
विशेष सुराकीका आधारमा साउन १२ गते काठमाडौंको कमलपोखरीमा बस्ने आर्य फर्माका कर्मचारी भारतीय नागरिक दीलिप पण्डितलाई पक्राउ गरी सोधपुछ गर्दा फर्माको धन्दाबारे खुलेको हो। उनीसँगको सोधपुछपछि ललितपुरको औद्योगिक क्षेत्रमा रहेको संघाई प्लास्टिक उद्योगमा लुकाइराखेको ४ सय ७१ किलोग्राम सिउडोइफेड्रिन प्रहरीले फेला पारेको थियो। ती कच्चा पदार्थ सेतो बट्टामा राखिएका थिए, जसमा कुनै लेवल लगाइएको थिएन। यसको बजार मूल्य 'ब्लाक मार्केट'मा एक अर्ब ३२ करोड ३९ लाखभन्दा बढी हुने अनुमान छ।
फर्मा रतनलाल संघाईको नाममा रहेको छ।
 

के हो सिउडोइफेड्रिन?


सिउडोइफेड्रिन आफैंमा लागुऔषध भने होइन। नेपाल सरकार र औषधि व्यवस्था विभागले यहाँका ५० भन्दा बढी औषधि कम्पनीलाई यसको आयात गर्ने इजाजत दिएको छ। यहाँका व्यवसायीहरुले उक्त कच्चापदार्थ स्विटजरल्यान्डबाट आयात गर्ने गर्छन्।
 
खोकी, रुघा, दम लगायतका डिकोल्ड, साइनेक्स, राइनेक्स औषधि बनाउन सिउडोइफेड्रिनको प्रयोग हुन्छ। हजार एमजीको ट्याब्लेटमा ६० एमजी सिउडोइफेड्रिन प्रयोग हुने गरेको छ।
 

सिउडोइफेड्रिनको निर्यात कहाँकहाँ?

आर्य फर्माले आयात गरेको सिउडोइफेड्रिनबाट लागुऔषध तयार गरी भारत, चीन, बर्मा लगायतका देशमा पठाउने गरिएको रहस्य पनि खुलेको छ। पक्राउ परेका दीलिप पण्डितको बयानको आधारमा प्रहरीले सिनामंगलबाट पक्राउ गरेको श्याम तामाङ मोक्तान र बद्री वनबाट थप खुलासा भएको हो। उनीहरु दुईले लामो समयदेखि अवैध औषधि ओसारपसार गर्ने गरेको बयान दिएका छन्। उनीहरुले सो अवैध औषधि झापाको काँकडभिट्टा हुँदै भारतको सिलिगुडीतर्फ र अन्य देशमा निर्यात गर्ने गरेका थिए।
 
 

सिउडोइफेड्रिनको आयात अनुमति


सरकारले नै औषधि उद्योग कम्पनीलाई सिउडोइफेड्रिन आयात गर्ने अनुमति दिने गरेको छ। औषधि व्यवस्था विभागका कर्मचारी गोरक्ष डिसी सिउडोफेड्रिन आफैंमा लागुऔषध नभएकाले आयात गर्ने अनुमति दिएको बताउँछन्। तर यो आयात गरेपछि औषधि तयार गरी बिक्री वितरण गर्न विभागबाट अनुमति भने लिनुपर्छ।
 
आयात गरेको औषधि बिक्री गरेको पूर्ण जानकारी दिएपछि मात्र अर्को पटकका लागि विभागले अनुमति दिन्छ। डिसी भन्छन्, 'हामीसित पर्याप्त जनशक्ति नभएकाले पनि अनुगमनको अभावमा यसरी गलत कारोबारमा लागेका हुन सक्छन्।' केही वर्षअघि नै सरकारले सिउडोफेड्रिन आयातमा रोक लगाउने कुरा गरे पनि अहलेसम्म बन्द हुन नसकेको उनी बताउँछन्।
 

नेपालमा आयात हुने सिउडोइफेड्रिन

सन् २०१० मा : १७२५ केजी
सन् २०११ मा : १६५० केजी
सन् २०१२ मा : ६१२५ केजी
सन् २०१४ मा : ३७२५ केजी
सन् २०१५ मा : २५७५ केजी
सन् २०१६ मा : ३१५१ केजी
 

आर्य फर्मालाई अब के हुन्छ?

यसरी अवैध कारोबार गरेकाले आर्य फर्मा कम्पनीको अनुमति पत्र ६ महिना वा सधैंको लागि रद्द गर्ने सकिने प्रावधान रहेको छ। पक्राउ परेका रतन संघाईलाई भने थप अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतमा चार दिनको म्याद थपिएको छ। उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही चलाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell